आर्मी सेमिफाइनलमा 



विजय नेपाली, पोखरा 
जारी आहा रारा गोल्डकपमा संकटामाथि ३–० को सहज जित निकाल्दै गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले जितेपछि अन्तिम चारमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने भएको छ।
पहिलो हाफमै १–० गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा फिनिसिङ लाइनमा सुधार गर्दै थप दुई गोल गरेको हो। आर्मीको जितमा सुदिल राई, नवयुग श्रेष्ठ र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेको विवेक बस्नेतले गोल गरे।
खेलको १५औº मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। उनले सुमन अर्यालको पासमा गोल गरे। त्यस्तै खेलको ७१औº मिनेटमा आर्मीका लागि नवयुगले दोस्रो गोल गरे भने ७८औं मिनेटमा विवेकले गोल गर्दै आर्मीको अग्रता तेब्बर बनाए। आर्मीले त्योबाहेक पहिलो हाफमा पाएको अन्य अवसरको सदुपयोग गर्न सकेन।
आर्मीका कप्तान भरत खवासले बारम्बार अवसर पाए पनि गोल गर्न भने चुके। खेलको २४औं मिनेटमा भरतले राम्रो अवसर पाए पनि अलमलिन पुगे। सोही बललाई गोर्गे प्रिन्स कार्कीको फितलो प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले सहजै समाए। खेलको २९औं मिनेटमा दिपक गुरुङको पासमा भरतले गोल गर्न सकेनन्। उनको फिनिसिङ निकै कमजोर देखियो।
त्यस्तै खेलको ३०औं मिनेटमा सुमनको उत्कृष्ट क्रसपासमा नवयुग श्रेष्ठले फिनिसिङ दिन सकेनन्। उनले फ्लिक गरेको बल क्रसबार माथिबाट बाहिरियो। उता खेलको सातौं मिनेटमा संकटाका मेस्सोयुके पिएरले पाएको अवसरमा आर्मीका विकास तामाङ बाधक बने। त्यस्तै खेलको १४ औं मिनेटमा संकटाका लक्षमण रुचालको उत्कृष्ट फ्रीकिक फस्टबार नजिकैबाट बाहिरिन पुग्यो। खेलको म्यान अफ दी म्याच आर्मीका नवयुग घोषित भए।
जितपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले मनाङ मस्र्याङ्दीसंगको सेमिफाइनल खेलमा फिनिसिङ लाइनमा सुधार गर्ने प्रतिक्रिया दिएका छ्न। ‘हाम्रो पहिलो हाफमा एक गोल भयो तर म सन्तुष्ट छैन, हाम्रो फिनिसिङ राम्रो भएन मनाङसंगको खेलमा सुधार गरेर खेल्छौं।’ –न्यौपानेले भने। आर्मीले लिगपछि मंगलबार मात्रै सेट टिमलाई मैदानमा उतारेको हो। ‘मैदान निकै राम्रो छ नयाँ मैदान भएका कारणले पनि हामीलाई बुझ्न समय लग्यो अब खेल फरक हुनेछ।’ –उनले भने।

प्रतिक्रिया दिनुहोस्