डाक्टर नहुँदा सुत्केरीले भत्ता पाएनन्



नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारी अस्पतालमा सुत्केरी गराएबापत सरकारले सुत्केरी हुने महिलालाई दुई हजार रुपियाँ सुत्केरी भत्ता उपलब्ध गराउने गरेको छ। तर रामेछाप अस्पतालमा सुत्केरी हुने महिलाहरू भने रित्तो हात घर फर्किन बाध्य छन्।
जिल्ला अस्पताल ४ महिनादेखि डाक्टरविहीन हुँदा अस्पतालमा सेवा लिन आउने सुत्केरीहरूसमेत मर्कामा परिरहेका छन्।
गत साउनदेखि जिल्ला अस्पताल रामेछापमा आएर सुत्केरी भएका ८० महिलाहरूले अझै सुत्केरी भत्ता प्राप्त गर्न सकेका छैनन्। जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अस्पताल प्रमुख नहुँदा चार महिनादेखि अस्पतालका कर्मचारीले समेत तलब नपाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालित जिल्ला अस्पतालको अवस्था बिजोग छ, प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलाललाई बारम्बार आग्रह गर्दा पनि अझै डाक्टरको व्यवस्था हुन सकेको छैन।’
सामाजिक विकास मन्त्रालयले भने संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन गरेर डाक्टर नपठाउँदा खाली भएको ठाउँमा डाक्टर पठाउन नसकिएको बताएको छ। एक वर्षअघि जिल्ला अस्पताल रामेछापका प्रमुख डा. प्रकाश साहको सरुवा भएपछि यस अवधिमा दुई डाक्टर जिल्ला अस्पतालमा आएको बताउँदै अध्यक्ष पाख्रिनले डा. भूषण सुवेदी दुई हप्ता मात्र बसेर सरुवा भएपछि अस्पतालमा तयार पारिएको योजनासमेत अघि बढ्न नसकेको बताउनुहुन्छ  ‘चार महिनोदेखि प्रशासनिक काम ठप्प छ, औषधी खरिद गर्न पनि सकिएको छैन’, उहाँले भन्नुभयो, ‘नागरिकहरूले स्वास्थ्य बीमा गरेका छन्, तर औषधी खरिद नहुँदा बीमाबापतको औषधीसमेत उपलब्ध गराउन सकेका छैनौं।’
बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अस्पतालमा डाक्टर पठाउन आफूले पहल गररहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘संघीय सरकारका स्वास्थ्य मन्त्री र मन्त्रालयका पदाधिकारीहरूसँग छिटोभन्दा छिटो समायोजन गरेर डाक्टर प्रदेशमा पठाइदिन बारम्बार आग्रह गरेका छौं, आशा गरौं जिल्ला अस्पतालले छिट्टै डाक्टर पाउनेछ।’

प्रतिक्रिया दिनुहोस्