भैसी पाल्ने कृषकलाई गाउँपालिकाको २० हजार अनुदान



न्युज अफ नेपाल,पर्वत । 

पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार अनुदान दिने कार्यक्रम ल्याएको हो । किसानलाई दिगो आम्दानीतर्फ आकर्षित गर्ने गाउँपालिकाको योजना अनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको गाउँपालिकाले जनाएको छ ।

‘पशुपालनमा किसानहरुको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएका हौं’ गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भन्नुभयो, ‘अनुदान दिन किसानहरुको निबेदन संकलन गर्दैछौं ।’ बढ्दो बसाईसराईले गाउँ रित्तिँदै गएको छ ।

अधिकाँश यूवा गाउँमा भेटिन छाडेका छन् । खासगरी यूवा विदेश पलायन भइरहेका छन् । स्थानीय स्तरमा रोजगारीका कुनै संभावना नभएको हुनाले पशुपालनलाई व्यवसायिक बनाउन सके गाउँ छोडेका फर्किने अपेक्षा सहित किसानलाई पशुपालनमा आकर्षित गर्न थालिएको वडा नम्बर ३ का अध्यक्ष रणवहादुर आलेले बताउनुभयो ।

‘पशुपालनमा यूवाहरुको आकर्षण बढ्न सकेको छैन,’ वडाअध्यक्ष आलेले भन्नुभयो, ‘पशुपालनलाई व्यवसायिक बनाउन सके यूवा बिदेश जानुपर्दैन भनरे पशुपालनलाई जोड दिएका हौं ।’ उहाँका अनुसार दूध उत्पादन बढाउने र गाउँ गाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको छ ।

दूध संकलन केन्द्र स्थापना गर्न चाहने सहकारी र फर्मलाई ७० प्रतिशत अनुदान दिने गाउँपालिकाको योजना रहेको उनले सुनाए । पशुपालन र कृषिमा विहादी गाउँपालिका राम्रो र संभावना रहेको क्षेत्र हो । गाउँपालिकामा प्रशस्त चरन क्षेत्र, भुईघाँस र डालेघाँस लगाउने क्षेत्र पनि प्रर्याप्त रहेको छ । गाउँपालिकाले पशुपालनमा सहयोग गर्न घाँस बिस्तार गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

बजारीकरणका लागि अहिले पक्की सडक बनाउन थालिएको छ । पशुपालन गर्ने किसानको राम्रो भविष्य देखेरै गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिएको प्रमुख प्रसासकीय अधिकृत ऋषीराम पन्थीले बताउनुभयो । कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल, यान्त्रिक हलो, भकारो सुधारमा पनि सहयोग गर्न थालेको उनले जानकारी दिए ।

पशुपालन र कृषि क्षेत्रमा चालू वर्ष उक्त गाउँपालिकाले रू. १ करोडभन्दा बढी बजेट बिनियोजन गरेको छ । विहादीमा प्रदेश सरकार मार्फत चालू वर्ष नै मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्