चक्रपथको तीन स्थानमा ‘फ्लाइओभर’



नेपाल समाचारपत्र, काठमाडौं । 
सडक विभागले चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डको विभिन्न तीन स्थानमा फ्लाइओभर बनाउने योजना ल्याउने भएको छ।
चीन सरकारले उक्त सडक खण्ड चौडा पारी स्तरीय बनाए पनि मुख्य चोकमा लामो समयसम्म सवारी रोक्नुपरेकाले फ्लाइओभरको योजना ल्याएको हो।
कोटेश्वरदेखि कलंकीसम्म चक्रपथको ललितपुर खण्ड पर्ने मुख्य चोकहरू ग्वार्काे, सातदोबाटो, एकान्तकुना वा बल्खुमा फ्लाइओभर निर्माणको योजना ल्याएको विभागका महानिर्देशक केशव शर्माले बताउनुभयो।
‘सडक चौडा र स्तरीय बनाए पनि चक्रपथको ग्वार्काे, सातदोबाटो, एकान्तकुना र बल्खुलगायत मुख्यमुख्य चोकमा जाम बढेपछि फ्लाइओभरको योजना ल्याएका हौं।’ –उहाँले भन्नुभयो।
यस सडक खण्ड निर्माण गर्ने क्रममा चिनियाँ सरकारले कलंकीमा अन्डर पास निर्माण सम्पन्न गरेपछि त्यहाँ हुने ट्राफिक जामको समस्या पूर्णरूपमा हटेको छ भने अन्य स्थानमा ज्युँको त्युँ छ।
उपत्यकाको मुख्य नाकाका रूपमा रहेको नागढुंगा हुँदै कलंकीसम्म सवारी चाप परी घण्टौं जाम पर्ने गथ्र्याे। अहिले त्यो अवस्था छैन। बानेश्वर तीनकुने हुँदै कोटेश्वर भएर सूर्यविनायक जाने तथा त्यसतर्फ आउने मुख्य बाटो कोटेश्वरमा हुने जाम हटाउन विभागले अध्ययन थालिसकेको छ।
अहिले कालिमाटी बल्खुचोकबाट कीर्तिपुर–चोभार, जवलाखेल–एकान्तकुनाबाट नख्खु–भैंसेपाटी, लगनखेल–सातदोबाटोबाट हात्तीवन गोदावरी तथा पाटन–मंगलबजारबाट ग्वार्काे–चोक–इमाडोल र लुभु लामाटार पुग्न जामको साह्रै सास्ती खेप्नुपर्छ।
यी चोकमा फ्लाइओभर निर्माणका लागि चाँडै प्रक्रिया अघि बढाइने बताउँदै विभागका महानिर्देशक शर्माले भन्नुभयो– ‘आउने आर्थिक वर्षभित्र प्रक्रिया टुंग्याएर डिजाइन र निर्माणको काम अघि बढाउने लक्ष्य छ। ’
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा यस सडक खण्ड अन्तर्राष्ट्रियस्तरको बनाइएको थियो। उक्त सडक सन् २०१२ मा सम्झौता भई पाँच वर्षमा निर्माणसम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्