अस्ट्रेलिया बन्यो महिला टी-२० विश्वकप च्याम्पियन



न्यूज अफ नेपाल,काठमाडाैँ।

भारतलाई ८५ रनले हराउँदै अस्ट्रेलिया महिला टी-२० विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ। प्रतियोगिता अन्तर्गत मेल्बर्नमा भएको फाइनलमा खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको आयोजक अस्ट्रेलियाले भारतलाई १ सय ८५ रनको लक्ष्य दिएको थियो।

तर दोस्रो इनिङ्समा ब्याटिङ गर्न आएको भारतीय टोली ९९ रनमै अलआउट भएपछि अस्ट्रेलियाले उपाधि उचाल्न सफल भएको हो । आइतबार नारी दिवसकै दिन एमसीजी रङ्गशालामा आयोजित उक्त खेलमा ८६ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।

यो अस्ट्रेलियाको पाँचौँ टी-२० विश्वकप उपाधि समेत हो। महिला टी-२० विश्वकपमा सर्वाधिक उपाधि जित्ने राष्ट्र पनि अष्ट्रेलिया नै हो। यसअघि अष्ट्रेलियाले सन् २०१०, २०१२, २०१४ र २०१८ मा विश्वकप उपाधि जितेको थियो।

घरेलु दर्शकका अगाडी अस्ट्रेलियाली खेलाडीहरूले आक्रामक खेल पस्केका थिए। भारतको लागि दिप्ती शर्माले ३३ रनको सर्वाधिक इनिङ्स खेलिन् । त्यस्तै भेडा क्रिश्नामुर्तीले १९, रिचा घोसले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । अष्ट्रेलियाकी मेगान स्चुट्टले ४ तथा जेस जोनासेनले ३ विकेट हात पारिन् ।

त्यसअघि अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो। अष्ट्रेलियाको ठुलो स्कोरमा बेथ मोनीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेलिन्। ५४ बल खेलेकी मोनीलले १० चौका प्रहार गरिन् ।

त्यस्तै एल्स्या हेलीले आक्रामक ७५ रनको अर्धशतकीय इनिङ्सको योगदान गरिन् । उनले ३९ बलमा ७ चौका र ५ छक्का प्रहार गरिन् । कप्तान मेग लानिन्नले १६ रन बनाउँदा निकोला केरी ५ रनमा अविजित रहिन् । भारतकी दिप्ती शर्माले २ तथा पुनम यादब र राधा यादबले समान एकएक विकेट लिए। अष्ट्रेलिया बाहेक इंग्ल्याण्ड र वेष्ट इण्डिज समान एक-एक पटक विश्व विजेता बनेका छन्।

प्रतिक्रिया दिनुहोस्