पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट



शिक्षा पन्त, लमजुङ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालले पत्रकारलाई बहिरङ्गको ल्याब,एक्सरे र टिकटमा ५० प्रतिशत छुट दिने अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठको भनाई छ ।

पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा सदस्य रहेका ५७ जना र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने शाखा अध्यक्ष आश गुरुङले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा लमजुङमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने भएको हो ।

जिल्लाकै ठूलो ६० शैया रहेको यस अस्पताल आगामी वर्ष १०० शैयाको बनाउने, नर्सिङ कलेज सञ्चालन गर्ने, आमा घर निर्माण गर्ने, कर्मचारी आवास निर्माण गर्ने लक्ष्य अस्पतालको रहेको छ । त्यस्तै प्राइभेट वार्ड सञ्चालन गर्ने, डाइलेसिस सेवा सञ्चालन गर्ने, मोतियाविन्दुको शल्यक्रिया, अक्सिजन पाइपलाइन व्यवस्था गर्ने योजनाका साथ अघि बढ्न लागेको अस्पतालका प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्