बाल विकासलाई स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं
आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ। सुजन तामाङ, विपिन गुरुङ, अनुप तामाङ, सौगात चन्द, सुशील तामाङ र दीपेश श्रेष्ठ सम्मिलित टोलीले स्वर्ण जितेको हो। बाल विकासले ६.५ अंक जोडेको थियो। थाउलोकै सिनियर महिला बेयर ह्यान्डमा बाल विकासकी सिर्जना गुरुङ ६.८ अंक जोड्दै पहिलो भइन्। सिर्जनाले आफ्नै स्कुलकी सपना शाहीलाई पराजित गरिन्।
बूढानीलकण्ठस्थित आयोजक बाल विकासको हातामा भइरहेको प्रतियोगिताको सिनियर पुरुष बेयर ह्यान्डमा सनराइजका सुदित श्रेष्ठ ७.२ अंकसाथ पहिलो भए। बाल विकासका लक्ष्मण सारु मगर ७.१ अंकसाथ दोस्रो तथा सनराइजका सागर लामा ७ अंकसाथ तेस्रो भए। जुनियर पुरुष बेयर ह्यान्डमा भ्याली पब्लिकका सोनाम गुरुङ ६.६ अंकसहित शीर्ष स्थानमा रहे। ६.५ अंकमा सनराइजका प्रिन्स लोप्चन दोस्रो तथा ६.३ अंकमा सनराइजकै आकाश थिङ तेस्रो भए। यस स्पर्धाको महिलामा एक्सेल पब्लिककी मारिया राई (६.६ अंक)ले स्वर्ण, सनराइजकी अप्सरा वाइबा (६.४ अंक)ले रजत र सनराइजकै सविना वाइबा (६.३ अंक)ले कांस्य जिते।
बाल विकासको २५औं स्थापना दिवसका अवसरमा आयोजित प्रतियोगिताको जुनियर महिला सर्ट वेपनमा भ्याली पब्लिककी एन्जल गुरुङले स्वर्ण चुमिन्। ६.५ अंक जोडेकी एन्जलले भद्रकालीकी शीतल शाहीलाई हराइन्। जुनियर पुरुष ताइचीमा सनराइजका विश्व निगम थापा पहिलो भए। उनले ५.७ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्