सन्तोषी र गोपी विजयी



काठमाडौं, (नेस)
वीर गणेशमान सिंह टेन के रोड रेसको महिलातर्फ गोयल डिजरकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्की विजयी भएका छन्।
रुट्स फेसनले आयोजना गरेको दौडमा १३औं सागका स्वर्ण विजेता सन्तोषी ३९ मिनेट १०.९८ से. मा निर्धारित दूरी पार गर्दै पहिलो भइन्। त्यस्तै गोपीचन्द्र पार्कीले ३२ मिनेट ०१.२ सेकेन्डमा उपाधि रक्षा गरे। साग स्वर्ण धारी पार्कीले २५६ धावकलाई पछि पार्दा सोही क्लबका खिम खत्री दोस्रो भए।
पुरुषतर्फ खत्रीले ३४ मिनेट ३५.० से मा र तेस्रो स्थानमा रहेका कर्णाली स्पोर्टस् क्लबका नरेश बुढा ३४ मिनेट ३६.१ सेकेन्डमा दूरी तय गरेका थिए। महिलातर्फ दोस्रो र तेस्रो स्थान नेपाल प्रहरीका बिन्द्रा श्रेष्ठले ४० मिनेट ११.२९ सेकेन्डमा र फुलमति रानाले ४० मिनेट ५८.११ सेकेन्डमा दूरी पार गरेका थिए। पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजारसहित पाँचौंसम्मलाई नगद पुरस्कार र दशौं स्थानसम्मलाई खेल सामग्रीहरू प्रदान गरिनुका साथै सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्