मच्छिन्द्रले उचाल्यो माइभ्याली गोल्डकप



गणेश घिमिरे, इलाम
फ्रिकन मूलका विदेशी खेलाडी निया आन्द्रेसको एकमात्र निर्णायक गोलको मदतमा लिग च्याम्पियन मच्छिन्द्र क्लबले छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। शनिबार भएको फाइनल खेलको इन्जुरी समयमा नियाले डिबक्स नजिकैबाट प्रहार गरेको बलले गोलको दिशा लिएपछि मच्छिन्द्रले उपाधि सुरक्षित गरेको हो। दोस्रो हाफदेखि पानी परेपछि बनेको हिलाम्ये मैदानमा दुवै टिमले खुलेर खेल्न सकेनन्। ४८औं मिनेटमा डिबक्स नजिकैबाट नवीन गुरुङले प्रहार गरेको बल पोस्टमा लागेर फर्किएपछि आयोजकले अग्रता लिन सकेन। त्यसको लगत्तै ५०औं मिनेटमा रजिन धिमालको कर्नरमा देवेन्द्र तामाङको हेड बल पोस्ट बारमा लागेर फर्किएपछि मच्छिन्द्रले पनि अग्रता बनाउन सकेन। वर्षाको कारण खेलमा प्रत्यक्ष असर परे पनि निया आन्द्रेसले निर्णायक गोल गरेर उपाधि मच्छिन्द्रलाई दिलाउन सफल भएका हुन्। मच्छिन्द्र लिग च्याम्पियन भएपश्चात् झापाको सताक्षी गोल्डकपको उपाधि जितेको हो भने बुढासुब्बा गोल्डकपमा सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। उपाधि उचालेको मच्छिन्द्रले ८ लाख र उपविजेता आयोजकले ५ लाख रुपियाँ हात पारे।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आयोजकका शरन बस्नेत घोषित भए। उनले नगद १ लाख १५ हजार रुपियाँ प्राप्त गरे। यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्सको पुरस्कार आयोजकका क्रमशः देव लिम्बू, छिरिङ गुरुङ, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार मच्छिन्द्रका क्रमशः योगेश गुरुङ, निया आन्द्रेस र प्रवेश कटुवाल घोषित भए। पुरस्कृत सबैलाई नगद २५÷२५ हजार रुपियाँ प्रदान गरिएको थियो। यसैक्रममा प्रतियोगितामा फाइनलमा पुगेको भन्दै इलाम नगरपालिकाका मेयर महेश बस्नेतले आयोजकलाई १ लाख रुपियाँ पुरस्कार दिने घोषणासमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्