पन्तलाई इन्टरनेसनल कम्युनिकेसन एक्सलेन्स अवार्ड



नेपाल समाचारपत्र, काठमाडौं
सञ्चार विज्ञ तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले इन्टरनेसनल कम्युनिकेसन एक्सलेन्स अवार्ड पाउनुभएको छ। भारतको बेंग्लोरमा आयोजित १४औं ग्लोबल कम्युनिकेसन कनक्लेभमा पब्लिक रिलेसन काउन्सिल अफ इन्डियाले शुक्रबार पन्तलाई सो अवार्ड प्रदान गरेको हो।

विश्वभरिबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरूको उपस्थितिमा प्रदान गरिएको उक्त अवार्ड अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ। पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा पु¥याएको योगदानका लागि काउन्सिलले उक्त अवार्ड दिएको हो। बैतडीको दशरथचन्द नगरपालिका नागार्जुनमा जन्मेका पन्त विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहनुभएको छ।

करिब एक दर्जन पुस्तकका लेखक, नेपाल, भारत, चीन, मलेसिया, श्रीलंका, बंगलादेश र फिनल्यान्डका विश्वविद्यालयहरूमा पत्रकारिता शिक्षण र शोधमा संलग्न पन्तका अन्तर्राष्ट्रिय जर्नलहरूमा मिडियासम्बन्धी शोधमूलक लेखसमेत प्रकाशित भएका छन्। पन्त विश्व प्रसिद्ध एकेडेमिक प्रकाशन गृह आइजीआई ग्लोबलको मिडिया सिरिज पुस्तकहरूको सल्लाहकार सम्पादकसमेत हुनुहुन्छ। ११ वर्ष अघिदेखि विश्वव्यापी रूपमा प्रदान गरिँदै आएको उक्त अवार्ड पाउने पन्त पहिलो नेपाली हुनुहुन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्