मान्नैपर्छ यी साहसिला दिदीबहिनीलाई



सञ्जयभक्त कँडेल, लन्डन ।

एनआरएनए यूकेको आतंकविरुद्द महिला अभियन्ताले एनआरएनए यूकेको १५औं स्थापना दिवसमा प्रमुख अतिथि बन्न आइपुगेका अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मालाई कालो झन्डा देखाएका छन्।

आन्तरिक विवाद मिलाई बाँकी काम गर्न गरिएको सर्वसाधारण र बुद्धिजीवीको आग्रहलाई नकार्दै सर्वाधिक विवादित कार्यक्रम एनआरएनए यूकेको स्थापना दिवसमा प्रमुख अतिथि बन्न आएका कुमार पन्त शर्मालाई गत निर्वाचनमा एनआरएनए यूकेको तर्फबाट महिला संयोजकको उम्मेदवार रहेकी क्षमता ढकाल, गोर्खा आमा समूहकी सेतीमाया गुरुङ, माइली गुरुङ, शान्ति गुरुङ, सोनी सुनार, संगीता गैरेलगायत दर्जनौं महिला दिदीबहिनीले कार्यक्रमस्थलमै चर्को विरोध, नारा जुलुस गर्दै कालो झन्डा देखाएका थिए।

एनआरएनए कार्यसमितिका अधिकांश कार्यसमितिका सदस्य, एनआरएनए अभियन्तालगाएतले विवादास्पद कार्यक्रमको पूर्ण जानकारी महासचिव डा. हेमराज शर्मालाई गराउँदा पनि उहाँले आफ्नो अध्यक्ष कुमार पन्तमाथि हुने दुव्र्यवहार र अपमान रोक्न प्रयास नगर्नु शंकास्पद रुपमा लिइएको छ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहँदा एनआरएनए आईसीसीले यूकेमा एनआरएनए यूकेको नाममा १५औ वार्षिकत्सव मनायो। १४ हजार पञ्जीकृत सदस्य भएको विश्वकै ठूलो गैरआवासीय नेपाली संघ यूकेको स्थापना दिवसमा मुस्किलले सय जनाको उपस्थिति देखिन्थ्यो। गजबको कुरा स्थापना दिवस मनाइरहँदा एनआरएनए बेलायतका संस्थापक अध्यक्षलगायत बहुमत संस्थापक सदस्यले कार्यक्रम बहिष्कार गरे भने नेपाली दूतावास लन्डनबाट डा. दुर्गाबहादुर सुवेदी पनि कार्यक्रममा जानुभएन।

मार्च ४ मा एनआरएनए यूकेका ४ उपाध्यक्ष प्रेम गाहामगर, नारायण कँडेल, मोहन कार्की र रामचन्द्र पोख्रेलले अध्यक्ष पुनम गुरुङले विधि र विधान सम्मत काम नगरेको, कार्यसमितिमा छलफल र अनुमोदन नगरी सल्लाहकार नियुक्त गरेको, आर्थिक हिनामिना र घोटलाको पारदर्शी छानविन नगरेको, कार्यसमितिमा काबिल र सक्षम सदस्य हुँदाहँुदै आईसीसी मानार्थ सदस्यको संयोजकमा स्थापना दिवस मनाउन लागिएको, निर्वाचन धाँधली र विवादस्पद भएको भन्दै स्वतन्त्र छानविन र पुनम गुरुङलाई प्रक्रिया र संस्कारयुक्त सामाजिक अभ्यासमा आउन पत्रकार सम्मेलनमार्फत सजग गराएका थिए।

एनआरएनए यूकेमा चरम विवाद र अनियमितताको घटनाक्रमका बीचमा स्थापना दिवस मनाउने भन्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासविच हेमराज शर्मालाई निमन्त्रणा गरिएको थियो। बेलायत सरकारले कोरोना भाइरसबाट बच्न भीडभाड, सभा समारोहमा ननिस्कन गरेको आग्रहलाई बेवास्ता गर्दै उनीहरू तामझाम र बाजागाजाका साथ कार्यक्रम स्थल आइपुगेका थिए।

गोर्खा समस्या, नेपाल हाउस, नेपाली भेषभूषा, भाषा संघसंस्था समन्वयमा शून्य प्रगति छ। छ महिनाको कार्यकाल बित्दा पनि आन्तरिक विवाद मिलाउन नसक्दा पहिलो महिला नेतृको क्षमतामा प्रश्न उठेको छ। यूके अध्यक्षको राजनैतिक तथा जातीय संरक्षण, भेदभाव, बदला व्यवहारले अबको बाटो झन अप्ठ्यारो देखिन्छ। कार्यसमितिका अधिकांश वरिष्ठ सदस्यहरू नै अध्यक्षको कार्यशैलीको भण्डाफोर गर्दै अनियमितता र गतिविधिको विरोध गर्दा आम मतदातामा संस्थाको साख गिर्दो छ र कतै संस्था नै फुट्ने त होइन भन्ने गाइँगुई सुनिन पनि थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्