मास्कको नाममा बढ्यो कालोबजारी, ३० रुपियाँ पर्ने मास्कलाई सय, देखाउन थालियो कृत्रिम अभाव



सुनील महर्जन, काठमाडौं ।

ललितपुर लगनखेलस्थित टाइम मेडिकेयर फार्मेसीले ३० रुपियाँ पर्ने मास्कलाई १ सय रुपियाँमा बेच्दै आएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गर्ने क्रममा सो तथ्य फेला पारेको हो। कोरोना भाइरसको संक्रमणको त्रास देखाएर बजारमा कृत्रिम अभाव र कालोबजारी शुरू भएको गुनासो आएपछि प्रशासनले शुक्रबार बजार अनुगमन गरेको थियो। त्यसरी बेच्न राखिएको मास्क जफत गरी अब पनि यस्तो गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले जानकारी दिनुभयो।

कार्यालयले लगनखेल, कुमारीपाटीमा रहेका १२ वटा पसलको अनुगमन गरेको थियो। कार्यालयका अनुसार अनुगमनका क्रममा पाटन अस्पतालनजिकै सञ्चालित जीपीपी म्यानकाइन्ड प्रालिले २५ रुपियाँमा बेच्नुपर्ने मास्क ५० रुपियाँमा बेच्दै आएको थियो।

अनुगमन समितिले त्यसरी बेच्न राखेका २२ थान मास्क जफत गरेको थियो। सो प्रालिले कपडाको मास्क साधारण खरिदको बिलसमेत पसलमा राखेको पाइएन।

सहायक प्रजिअ भुसालले कोरोनाको त्रास देखाएर अत्यावश्यक कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने गरेको सूचना आएपछि बजार अनुगमन थालेको बताउनुभयो। अनुगमनका क्रममा उहाँले वस्तुको उचित मूल्य लिन तथा सबै वस्तुको खरिदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गर्नुभयो।

हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरिएको छ। कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधीजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

काठमाडांै र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि बजार अनुगमन गर्ने जनाइएको छ। कालोबजारी हुन नदिन निरन्तर बजार अनुगमन गर्ने बताउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो– ‘कालोबजारी गरेको पाइएमा कारबाही गर्नेछौंं।’

यस्तै कोरोना भाइरसको सन्त्रासबीच बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुदेखि मास्स, औषधि, लत्ताकपडाको कृत्रिम अभाव हुन थालेको हल्ला फिँजाइएको छ।

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आवश्यकभन्दा बढी सामान खरिद गर्ने र स्टोर गर्ने कार्य नगर्न आम नागरिकलाई आग्रह गरेको छ। विभागले हरेक दिन बजार अनुगमन गरिरहेको र अहिलेसम्म कृत्रिम अभाव नभेटिएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्