कोरोना भाइरसका कारण इरानी विदेशमन्त्रीका सल्लाहकारको मृत्यु



तेहरान।

कोरोना भाइरसले इरानी विदेशमन्त्रीका एकजना सल्लाहकारको मृत्यु भएको छ । सन् १९७९ मा अमेरिकी दूतावासको बन्दी संकटका बेला समेत भूमिका खेलेका होसेन शेइख ओलसलेमको कोरोना भाइरका कारण मृत्यु भएको इरानको इर्ना समाचार संस्थाले जनाएको छ ।

इर्नाले जनाएअनुसार उनको बिहीबार मृत्यु भएको हो । उनी इरानी विदेशमन्त्री जवाद जरिफका सल्लाहकारको भूमिकामा थिए ।
उनले यसअघि सिरियाका लागि इरानको राजदूतका रुपमा समेत काम गरेका थिए । त्यसबाहेक उनी सन् १९८१ देखि १९९७ सम्म इरानको उपविदेशमन्त्रीको जिम्मेवारीमा थिए ।

कोरोना भाइरसका कारण इरानमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ भने अरु ३ हजार ५ सय १३ जना संक्रमित छन् । मारिनेमध्ये ६ जना उच्च सरकारी एवं राजनीतिक पदाधिकारी छन् ।

सन् १९७९ मा राजधानी तेहरानमा रहेको अमेरिकी दूतावासमा कूटनीतिक बन्दी संकटका बेला उनी विद्यार्थीका रुपमा संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरस इरानका सबै ३१ प्रान्तहरुमा फैलिसकेको छ । यसको रोकथामका लागि इरानले विश्वविद्यालयहरु बन्द गरेको छ भने अन्य साँस्कृतिक र खेलकुद गतिविधि पनि बन्द गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्