मोटरसाईकलबाट विश्व यात्रा गर्दै लुईटेल



अमृत अर्याल,स्याङ्जा। 

स्याङ्जाका एक युवकले मोटरसाईकलबाट विश्व भ्रमण गर्ने साहस देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाईकल मार्फत हिड्ने लक्ष्यका साथ स्याङ्जाबाट ति युवा विदाई भएका छन् । वालिङ नगरपालिका १४ तमादीका ३० वर्षीय यामप्रसाद लुईटेल विश्व मोटरसाईकल यात्रामा निस्किएका छन् ।

जिल्लाका ११ स्थानीयतह सगै जिल्ला समन्वय समितिबाट समेत विदाई भएका लुईटेल औपचारीक रुपले आफ्नै नगर वालिङ नगरपालिकाबाट विदाई भएका छन् । वालिङ नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिकदलका प्रतिनिधिनी, वालिङ उद्योग वाणिज्य संघ लगायत उद्योगी व्यवसायी, कर्मचारी, समाजसेवी, संचारकर्मी लगायतको सहभागितामा उनको विदाई गरिएको थियो । लुईटेलले विश्व मोटरसाईकलको औपचारिक यात्राको सुरुवात भने दार्चुलाबाट शुभारम्भ गर्ने जनाउनु भएको छ ।

नेपाललाई मोटरसाईकल यात्राबाट विश्वभर चिनाउने लक्ष्यका साथ प्रस्थान गरेका लुईटेलको पहिलो चरणमा नेपालका ७ सय ५३ स्थानीय तह, सात प्रदेशमा पुगेर अन्तिममा केन्द्रिय सरकारको विदाई पश्चात विश्व भ्रमणमा निस्कने अभिलासा छ । सरकारले शुभारम्भ गरेको नेपाल भ्रमणबर्ष लाई साकार पार्न पनि यो यात्रा फलदायी हुनेमा लुईटेल विश्वस्त हुनुहुन्छ ।

मुलुकलाई समृद्ध बनाउने सरकारको योजना छ यात्री लुईटेलले भन्नुभयो,“सबै स्थानीयतहले देशलाई समृद्ध बनाउन के के योजना छन् भन्ने विषयमा जानकारी लिनेछु ।” देशमा पर्यटकीय सम्भावनाको खोजी गरि त्यस्ता पर्यटकीय क्षेत्रको विश्वमा प्रचार प्रसार गर्ने आफ्नो अर्को लक्ष्य भएको लुईटेलले बताउनुभयो । सबै समस्याको समाधान गर्दै आफ्नो यात्रा पुरा हुने आशामा लुईटेल हुनुहुन्छ ।

लुईटेलको विदाईमा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँणले भ्रमण बर्ष २०२० को लोगो अंकित वालिङ नगरपालिका लेखिएको सानो मायाको चिनो दिएर मोटरसाईकल यात्री लुईटेललाई विदाई गर्नुभएको छ । लुईटेलले सबै स्थानीयतहमा पुगेर सो मायाको चिनो प्रदान गर्ने छन् नगर प्रमुख खाँणले भन्नुभयो,“विश्वयात्रा गर्ने कार्य सहज नभएपनि यात्रा सफल हुनेमा आफुहरु विश्वस्त रहका छौं ।”

खाँणले आफ्नै नगरका बासिन्दा लुईटेलको यो यात्रालाई वालिङ नगरले समेत गर्वको महसुस गरेको बताउदै यात्राको क्रममा आइपर्ने बाधा अड्चनको धैर्यताका साथ सामना गर्दै अगाडी बढ्न शुभकामना दिनुभयो । यात्रा अवधीभर वालिङ नगरपालिका साथमा रहने प्रतिवद्धता प्रमुख खाँणको थियो ।

लुईटेलको मोटरसाईकल मार्फत विश्व यात्रा गर्ने अवसरले नीजि क्षेत्रलाई निकै उत्साही बनाएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेले बताउनुभयो । नेपाल भ्रमण वर्षको अवसर पारेर विश्व भ्रमणमा निस्किएका लुईटेलको विश्व भ्रमण गर्ने कार्यले पर्यटन क्षेत्रमा सफलता हासिल गर्ने उहाँले बताउनुभयो ।

यो स्याङ्जाबासिको मात्रै नभएर देशकै लागि गौरव हो भन्ने नीजिक्षेत्रको बुझाई रहेको पौडेलले बताउनुभयो । सन् २०२२ सम्ममा नेपालका ७ सय ५३ स्थानीय तहको करिब ६० हजार किलोमिटरको यात्रा पुरा गरि सन् २०२२ बाट विश्व यात्रामा निस्किने र दश वर्ष भित्रै ८ लाख किलोमिटरको यात्रा गर्ने योजना लुईटेलको छ ।

समाज र राष्ट्रको लागि केही गर्नु पर्छ भन्ने उद्येश्य बोकेर आफु विश्व यात्रामा निस्किएको उहाँको भनाई छ । मोटरसाईकल यो यात्रामा मेरो साथी हुने र यही साधनको प्रयोग गरि देशको पर्यटनको सम्भावना र अवस्थाको अध्ययन गरि यसलाई अन्तराष्ट्रिय स्तरमा नेपालको बारेमा जानकारी दिने लुईटेलले बताउनुभयो ।

अर्जेन्टिनाका इमेलियो स्कटोले मोटरसाईकल यात्राबाट दश वर्षमा ७ लाख ३५ हजार किलो मिटर यात्रा गरेका थिए । यसलाई बढाएर दश वर्ष भित्रै ८ लाख किलोमिटरको यात्रा पार गरेर नयाँ रेकर्ड कायम गरी गिनिज बुकमा नेपालको नाम दर्ज गर्ने लक्ष्य लुईटेलको छ । नेपाललाई विश्वसामु सगरमाथाको देश , गौतम बुद्धको देश र पशुपतिनाथको एक सुन्दर पर्यटकीय देश भनेर चिनाउने यो अभियानमा सबैले सहयोग गर्न लुईटेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्