क्यानभासमा अन्त्यहीन यात्रा



कलाकार जयसंकर्षण श्रेष्ठको तेस्रो एकल प्रदर्शनी ठमेलस्थित दलाइ–ला आर्ट स्पेसमा सम्पन्न भएको छ। एक महिनादेखि जारी प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुःखान्तका घटनालाई कलात्मकरूपमा चित्रण गरिएको थियो।
अन्त्यहीन यात्रा शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार श्रेष्ठले जीवन र जगत्का शाश्वत सत्य र विभिन्न परिघटनालाई क्यानभासमा चित्रण गरे। श्रेष्ठले कुमालेको चक्रजस्तै घुमिरहने जीवनमा कहिले सुख त कहिले दुःखका परिघटना चलिरहने भएकाले तिनलाई सिर्जनात्मक दृष्टिबाट क्यानभासमा उतार्ने काम गरेको सुनाए। उनले आफ्ना सिर्जनाका विषयमा भने– ‘मैले साँखु वरिपरिको विषयलाई कलाको थिमका रूपमा लिएको छु। जसमा संस्कृति, प्रकृति, सुख–दुःख, जीवनयात्रालगायतका विषयलाई प्रस्तुत गरेको छु।’
उनले प्रकृति, संस्कृति, जीवन र जगत्, आरोह–अवरोह तथा यावत् मानवीय गतिविधि सबै अन्त्यहीन रहेको जिकिर गर्दै कलामा तिनै विषयलाई प्रस्तुत गरेको सुनाए। ०७२ सालमा आएको विनाशकारी भूकम्प र त्यसको कहरले निम्त्याएको दुःखान्त विषयलाई समेत कलाकार श्रेष्ठले मार्मिकरूपमा उठाएका छन्। भत्किएका घर, सम्पदा तथा सांस्कृतिक धरोहरलाई चित्रमा प्रस्तुत गर्दै भूकम्पका कारण सामाजिक जीवनमा परेको प्रभावलाई केलाएका छन्। उनले प्रतिकात्मकरूपमा चित्रमा पुतली, सारस तथा हम्वर्ग चरालगायतका विषयलाई समेत राखेका छन्। जीवन सुन्दर परिकल्पनाको सँगालो रहे पनि त्यसमा जीवन र जगत्का विषय भने कहिले दुःखान्त त कहिले सुखान्तरूपमा आउने श्रेष्ठले जिकिर गरे।
उनले सांस्कृतिक तथा प्राकृतिक विषयलाई समेत क्यानभासमा उधिन्दै सगरमाथा, विभिन्न मन्दिर, संस्कृतिका विविध पाटालाई समेत चित्रमा प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्