सिल्मी–ठूलीपोखरी–कार्कीनेटा सडक कालोपत्रे शुरू



दुर्गाप्रसाद शर्मा, पर्वत

महत्वपूर्ण मानिएको सिल्मी–ठूलीपोखरी–कार्कीनेटा सडक कालोपत्रे गर्ने काम शुरू भएको छ।

झन्डै २० वर्षअघि ट्रयाक खुलेको उक्त सडकमा पर्ने सिल्मीदेखि कार्कीनेटा खण्डमा ५ किलोमिटर सडक कालोपत्रे शुरू भएको हो।

सडकको यसअघि स्तरोन्नतिको काम भएका कारण थप बजेट विनियोजन गरेर कालोपत्रेको काम शुरू भएको पूर्वाधार विकास कार्यालय पर्वतले जानकारी दिएको छ। ‘यस वर्ष ५ किलोमिटरमा कालोपत्रे गरिसक्ने लक्ष्य लिएका छौ’, –उहाँले भन्नुभयो– ‘केही बजेट अपुग भए पनि थप बजेट निकासा गरी यस वर्ष नै कालोपत्रे गरिसक्छौं।’

सडकको कालोपत्रे गर्ने कार्यको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अनुगमन गर्नुभएको छ। अनुगमन गर्दै अध्यक्ष तिमिल्सिनाले धेरै विकास आयोजनाहरू समयमा सम्पन्न नहुने समस्या रहेको हुँदा समयमा गुणस्तरीय काम सक्नुपर्ने कुरामा जोड दिनुभयो।

उहाँले आफ्नो बाँकी चार वर्षे कार्यकालभित्र पर्वतका सबै वडामा कालोपत्रे सडक पुर्याउने प्रतिबद्धता दोहोर्याउँदै उपभोक्ताले सडकबाट लाभ लिन व्यावसायिक कृषि र उद्यम गर्न आग्रह पनि गर्नुभयो।

दोबिल्लाबाट सिल्मी–ठूलीपोखरी–कार्कीनेटासम्म सडक खुले पनि सहज रूपमा यातयातका साधन सञ्चालन नहुँदा एक वर्ष अघिसम्म त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।

उक्त सडक खण्ड गत वर्ष ग्राभेल भएको थियो भने अब कालोपत्रे शुरू भएको छ। कालोपत्रेसँगै कुश्मा नगरपालिकाको पकुवा, ठूलीपोखरी, खौलालाकी हुँदै फलेबास नगरपालिकाको कार्कीनेटा, थापाठाना, भँगरालगायतका बासिन्दालाई सदरमुकाम आवतजावतका लागि सहज हुने कुश्मा नगरपालिका–११ का अध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो।

यसैबीच केही दिनयता स्तरोन्नतिको काम भइरहेको उक्त सडकमा सवारी आउजाउले काममा समस्या भएको भन्दै निर्माण व्यवसायीको अनुरोधमा प्रशासनले सडक बन्द गरेको छ। उक्त सडकमा दिउँसो सवारी चलाउन रोक लगाउने निर्णय भएको प्रशासनले जनाएको छ।

सरोकारवालाको बैठकबाट फागुन १० शनिबारदेखि चैत ९ सम्म दिउँसोको आवागमन रोकिएको छ। ‘अलि दु्रत गतिमा काम गर्नका लागि वातावरण बनाउन सडक बन्द गरिएको हो।’ –प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भन्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्