सरकारकै प्रश्न ‘शिक्षण संस्था खोल्ने कि नखोल्ने होला ?’



ईश्वरराज ढकाल, काठमाडौं

नेपालमा कोरोना भाइरस भित्रने आशंका रहेका बेला सरकारले शिक्षण संस्था बन्द गर्ने कि यहीं अवस्थामा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्नसकेको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो बिहीबार आयोजना गरेको बैठकमा निजी विद्यालयका संगठन एनप्याब्सन र अभिभावक महासंघले तत्कालका लागि विद्यालय बन्द गरेर केही दिनपछि परीक्षा सञ्चालन गर्न आग्रह गरेको थियो। प्याब्सनले ५ गतेसम्म परीक्षाको कार्यक्रम सकेर विद्यालय बन्द गर्न सक्ने धारणा राखेको थियो।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोलाउनुभएको बैठकमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले करिब १५ दिनसम्म विद्यालय बन्द गर्न सुझाव दिनुभएको थियो। उहाँले गम्भीर समस्या आउनुभन्दा केही दिन अगावै विद्यालय बन्द गर्नु उचित हुने बताउँदै विश्वभर संक्रमण फैलिएर शिक्षण संस्था बन्द गरेको अवस्थामा हामीले परीक्षाका लागि भन्दै खोल्नुको केही औचित्य नभएको बताउनुभयो।

तर प्याब्सनले चैत ५ गतेसम्म परीक्षा सञ्चालन गरेपछि केही दिनका लागि विद्यालय बन्द गर्न सुझाव दिएको थियो। प्याब्सन अध्यक्ष टीका पुरीले विद्यालयमा उच्च सतर्कता अपनाउनु बेस हुने भन्दै तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो– ‘केही दिनअघि एनप्याब्सनले ५ गतेसम्म परीक्षा लिएर बिदा दिने कुरामा सहमति गरेको थियो तर बैठकमा बन्द गर्ने विषय उठान गरेर थप अन्योल सिर्जना भएको छ।’

प्याब्सनले सबै जिल्लामा सर्कुलर जारी गरी ५ गतेसम्म कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गर्न निर्देशन दिइसकेको छ। एनप्याब्सनका अध्यक्ष सापकोटाले केही दिन कुरेपछि मात्रै निर्णय गर्ने बताउनुभयो। अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले तत्कालको अवस्थामा करिब दुई साता विद्यालय बन्द गर्ने र त्यसपछि परीक्षा र भर्नाका कार्यक्रम सञ्चालन गर्नु उचित हुने बताउनुभयो।

‘हामीले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेका छौं, केही दिन सबै शिक्षण संस्था बन्द गरौं अवस्था हेरेर सरकारले थप निर्णय गर्नेछ’ –उहाँको भनाइ थियो।

उहाँले गर्मी बढ्दै गएपछि संक्रमण हुने खतरा कम हुने जनाउँदै चैतपछि परीक्षा सञ्चालन गर्दा कुनै समस्या नपर्ने बताउनुभयो।

सरोकारवाला निकायबीच विद्यालय बन्द गर्ने कि खोल्ने भन्ने विषयका निर्णय हुन नसकेपछि सरकार अन्योलमा परेको छ। सरकारले भोज, सभा सम्मेलनलगायतका कुनै पनि भीडभाड हुने कार्यक्रम सञ्चालन नगर्न सर्वसाधारण सबैलाई निर्देशन जारी गरिसकेको छ।

यहाँसम्म कि जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सूचना जारी गरिसकेका छन्। यस्तो अवस्थामा केही दिनका लागि बिदा दिने कि नदिने भन्ने विषयमा मन्त्रालयले निर्णय गर्नसकेको छैन।

यही विषयमा मन्त्री पोखरेलले हिजै विश्वविद्यालयका अध्यक्ष र सदस्यसचिव, त्रिविका उपकुलपति प्राडा. कर्मकान्त बास्कोटा, खुला विश्वविद्यालयका उपकुलपति प्राडा. लेखनाथ पौडेलसँग छलफल गरेको थियो।

छलफलमा भएको विषयबारे जानकारी गराउँदै त्रिविका उपकुलपति प्राडा. बास्कोटाले अहिलेको अवस्थामा उच्च सतर्कता अपनाउनुको विकल्प नभएको बताउनुभयो।

उहाँले अवस्था हेरेर सबै क्याम्पसको पठनपाठन बन्द गर्ने, परीक्षाका कार्यक्रम पछि सार्नेलगायतका विषयमा निर्णय गर्ने बताउनुभयो। तर हालसम्म कोरोना संक्रमित नभएका कारण तत्काल शिक्षण संस्था बन्द गर्नुपर्ने अवस्था नभएको उहाँको भनाइ छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अझै पनि मन्त्रालय थप छलफलकै क्रममा रहेको बताउँदै केही दिनमा थप निर्णय हुनसक्ने जानकारी दिनुभयो।

शिक्षण संस्था बन्द गर्ने विषयमा थप छलफल आवश्यक रहेको उहाँको भनाइ छ। तीन दिनअघि मन्त्रालयमा बसेको बैठकमा शिक्षा सचिव महेश न्यौपानेले केही दिनका लागि विद्यालय बन्द गर्ने तयारी सुनाउनुभएको थियो। तर प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघलगायत निकायले चाँडै परीक्षा सकेर बन्द गर्ने सुझाव दिएका थिए।

सरकारले शिक्षण संस्था मात्र बन्द गर्ने कि सपिङ मल, स्विमिङ पुल, खेलकुदका कार्यक्रम, सिनेमा हल, फुटसललगायतका क्षेत्र पनि बन्द गर्ने भन्ने विषयमा गम्भीर छलफल गरिरहेको छ। बैठकमा स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको विषयमा दैनिक बुलेटिन सार्वजनिक गर्ने र सोही आधारमा अन्य संस्थाले थप निर्णय लिने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्