काट्नुपर्छ भनेको हातको उपचार ४० हजारमै



चिरञ्जीवी मास्के, दोलखा

७३ वर्षका भए जिते तमाङ, दोलखा बैतेश्वर गाउँपालिकाको गैरीमुदी स्थायी घर भए पनि उनी १३ वर्षको उमेरदेखि नै भारतको सिलगुढीमा बस्छन्।

तर, उनी ६ वर्षअघि भाँचिएको आफ्नो हातको उपचार गर्न भने जन्मथलो दोलखा सदरमुकाम चरिकोट आएका छन्। मंगलबार भाँचिएको हातको अप्रेसनपछि आराम गरिरहेका जितेले ६ वर्षपछि आफ्नो हात पहिलेकै जस्तो हुने कुराले खुसी लागेको बताउनुभयो।

६ वर्षअघि सिलगुढीमै मोटरसाइकलले ठक्कर दिएर उनको दाहिने हात भाँचिएको थियो। दुर्घटनालगत्तै उनले सिलगुढीकै एउटा क्लिनिकमा भाँचिएको हातमा प्लास्टर गरे। प्लास्टर गरेको केही दिनपछि छिमेकीको लहैलहैमा लागेर जडीबुटीको उपचार गर्ने भन्दै उनले प्लास्टर आफैंले काटे र जडीबुटीको उपचार थाले।
जडीबुटीको उपचारले उनको हात जोडिने हैन झन् समस्या हुन थाल्यो।

त्यसपछि उनी पहिले प्लास्टर गरेको क्लिनिकमा गए। तर त्यहाँको डाक्टरले गाली गर्दै अब हातै काट्नुपर्ने र २ लाखभन्दा बढी खर्च लाग्ने बताएपछि उनी ६ वर्षदेखि भाँचिएको हात झुन्डाएर बसेका थिए।

भारतको सिलगुढीमा बस्ने भए पनि उनी जन्मघर भने आउने–जाने गरिरहन्थे। त्यही क्रममा चरिकोटमा रहेका ज्वाइँ पहल थामीले न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालमा हाडर्जोनीको राम्रो उपचार हुने भन्दै जिते तमाङलाई उपचारका लागि अस्पताल ल्याएका थिए। भारतमा हात काट्नुपर्ने र २ लाखभन्दा बढी खर्च लाग्ने बताएको तर चरिकोटमा ४० हजारमै हात नकाटी उपचार भएको भन्दै तमाङले जन्मथलो, ज्वाइँ र उपचारमा संलग्न डाक्टरहरूलाई धन्यवाद दिए।

जिते तमाङको हातको जटिल सल्यक्रिया गरी टाइटेनियम पाता राखिएको उपचारमा संलग्न वरिष्ठ हाडर्जोनी विशेषज्ञ डाक्टर मन्दिप पाठकले बताउनुभयो।
दुई घण्टाभन्दा बढी समय लगाएर सल्यक्रिया गरी पाता राखिएको उपचारमा संलग्न एमडीजीपी डाक्टर तुलाकृष्ण गुप्ताले बताउनुभयो।
जिते तमाङको हात ठीक हुन ५÷६ महिना लाग्ने र हातले पहिलेकै जस्तो काम गर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्