‘मदन भण्डारी’ विश्वविद्यालयलाई ११ हजार रोपनी जग्गा, समितिकाे नाममा लालपुर्जा तयार



मोतीराम तिमल्सिना, काभ्रे ।

पाँचखाल नगरपालिका वडा नम्वर ७, १० र १२, नमोबुद्ध नगरपालिका वडा नम्वर २ र ३ नम्वर वडामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नीजि तथा सरकारी ११ हजार ६१ रोपनी जमिन ब्यवस्थापन गरिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ रोपनी जमिन अधिग्रहणको तयारी भएको छ । साविक बालुवा गाविस वडा नम्वर ६ र ८, होक्से गाविस वडा नम्वर २, मेथिन्कोट गाविस वडा नम्वर ७, फुलबारी गाविस वडा नम्वर ५ र ६ नम्वर वडाका जग्गाहरु विश्वविद्यालयका नाममा दर्ता गरिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति (गठन) आदेश २०७५ नेपाल राजपत्रमा २०७६ असार ९ गते प्रकाशति भए पछि नेपाल सरकारले २०७६ मसिंर २३ गते विकास समितिका नाममा जग्गा पास गरिरदिने निर्णय गरेको थियो । ‘सरकारले विश्वविद्यालयका लागि उपयुक्त स्थान र जग्गा खोज्ने क्रममा काभ्रेको पाँचखाल र नमोबुद्ध नगरपालिकामा रहेको ११ हजार ६१ रोपनी उपयुक्त देखिएको हो’– सरकारका तत्कालिन प्रवत्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भन्नुभयो–‘काभ्रेमा केन्द्रिय कार्यालय रहने विश्वविद्यालयको मकवानपुरको चित्लाङ्गमा एउटा विभाग रहनेछ ।’

पूर्वमन्त्री बास्कोटाकै पहलमा काभ्रेमा उक्त विश्वविद्यालय निर्माण हुने भएको हो । अन्र्तराष्ट्रिय स्तरको उक्त विश्वविद्यालयका लागि आवश्यक पर्ने जग्गा समितिका नाममा हक हस्तान्तरण भईसकेको छ । ब्यक्तिका नाममा रहेको ७ सय १४ थान अधिग्रहणको प्रकृया शुरु भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समितिले अधिग्रहणको निर्णय गर्नेछ । मालपोत कार्यालय काभ्रेले सबै जग्गाको पुर्जा तयार गरिसकेको छ । मन्त्री बास्कोटा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित देशकै पपुलर मत ल्याउने जनप्रतिनिधि हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय नेपाल भ्रमणका क्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि सम्झौता भएको थियो । नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि चिनियाँ पक्षले प्रारम्भिक रुपमा छलफल र अध्ययन गरी सहमती भएको थियो ।

२०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको पूर्वाधार तयारी विकास समिति (गठन) आदेश २०७५ स्वीकृत गरेकाले सोहि समितिले कार्य गरिरहेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताउनु भयो । ‘विज्ञान र प्रविधिलाई शिक्षा र स्वास्थ्यसँग जोडेर मुलुकको समृद्धि र विकासका लागि नयाँ बन्ने विश्वविद्यालयले भूमिका निर्वाह गर्नेछ’–मन्त्री पोखरेलले भन्नुभयो’– ‘भौतिक पूर्वाधार र जमिन र बजेटका लागि कुनै समस्या छैन । केवल तीव्र गतिमा काम गरेर मानव संशोधन विकास क्षेत्रमा हामी ठोस प्रगति गर्न चाहन्छौं ।’ यो विश्वविद्यालयले विज्ञानका क्षेत्रका प्रतिभा पलायनको क्रमलाई पनि रोक्न योगदान दिने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आव २०७५/७६ को आय व्ययको विवरण प्रस्तुत गर्दै वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्य समेत अघि बढाइने उल्लेख गर्नु भएको थियो । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपैयाँ रकम समेत विनियोजन गरेको छ भने विज्ञानका क्षेत्रमा नवप्रर्वतन नीतिसम्बन्धी कार्यदल गठन गरी सुझाव संकलन पनि गरिरहेको छ । पारमाणविक प्रविधि र विकीरणको सुरक्षित प्रयोग तथा त्यस्ता विकीरणबाट पर्नसक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न पारमाणविक पदार्थ सम्बन्धी कानून तर्जुमाका लागि काम भइरहेको छ ।

नेपालमा केन्द्रीय र क्षेत्रीय गरी विभिन्न १४ विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठान छन । मन्त्रालयले विदूषी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि पनि कानूनको मस्यौदा तयार गरिसकेको छ । काभ्रेमा काठमाडौ विश्वविद्यालयको सफलतासँगै काभ्रेपलाञ्चोक जिल्लामा विश्वविद्यालय स्थापना गर्ने क्रम शुरु भएको छ । सिद्धार्थ विश्वविद्यालय नालामा स्थापना गर्ने अभ्यास भईरहे पनि सफल भएको छैन । तर पनि निरन्तर कार्य भईरहेको छ । नेपाल सरकारले केहि महिना अघि मात्रै काभ्रेको बनेपा नगरपालिका साँगामा प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । विश्वविद्यालयका लागि आवश्यक जमिनको ब्यवस्थापन गरिसकेको छ ।

त्यस्तै पाँचखाल र नमोबुद्ध नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । तत्कालिन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जिल्लालाई शैक्षिक हबका रुपमा विकास गर्न तथा पर्यटनसँगै प्रविधिसँग जोड्ने उदेश्यले विश्वविद्यालयहरुको स्थापनामा जोड दिएको बताउनु भयो । पुर्व मन्त्री बास्कोटाको पहलमा जिल्लामा महत्वपूर्ण गौरवका आयोजनाहरु शुरु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्