सुष्मा फाइनलमा



न्युज अफ नेपाल, काठमाडौं ।

चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि भएको बागमती प्रदेश खेलाडी छनोट प्रतियोगिताको महिला ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ मंगलबार फाइनलमा प्रवेश गरेकी छन् ।

भक्तपुरमा भइरहेको प्रतियोगितामा सुष्माले काभ्रेकी प्रतिशा अर्याललाई पराजित गरिन् । अर्को सेमिफाइनल हुन बाँकी छ । पुरुष ५६ केजीमा काठमाडौंका सविन रजकले ललितपुरका हिक्मत सिउठाने मगर, सिन्धुपाल्चोकका शक्ति लामाले मकवानपुरका सुचितध्वज कार्की र रामेछापका अजय तामाङले काभ्रेका सजल महर्जनलाई हराउदै सेमिफाइनलमा प्रवेश गरे ।

पुरुष ६० केजीमा सिन्धुपाल्चोकका अंकित शाहीले रामेछापका सोनाम शेर्पा तथा काठमाडौंका मौसम राना मगरले ललितपुरका सन्तोष राईलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६४ केजीमा चितवनका विवेक गुरुङले भक्तपुरका सन्जोग श्रेष्ठलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

पुरुषमा २८ तथा महिलामा १० खेलाडीको सहभागिता रहेको चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जनाएका छन् । प्रत्योक तौलसमूहमा पहिलो हुने ८ पुरुष र ६ महिला खेलाडी राष्ट्रिय बक्सिङलाई छानिने छन् । छनोट बिहीबारसम्म चल्ने छ ।

प्रदेश २ को छनोट पूरा :

चौथो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङका लागि प्रदेश २ बाट ८ पुरुष र ६ महिला गरी १४ खेलाडी छनोट भएका छन् । पुरुष ४९ केजीमा हरि राई, ५२ केजीमा सुवास तामाङ, ५६ केजीमा अमन अली, ६० केजीमा अमर शाह, ६४ केजीमा सन्जोग रिस्ता, ६९ केजीमा करण कार्की, ७५ केजीमा मोहन तामाङ र ८१ केजीमा विमलकुमार मण्डल छनोट भए ।

महिला ४८ केजीमा रमिशा श्रेष्ठ, ५१ केजीमा सुमिना खड्का, ५४ केजीमा लाक्पा डिकी शेर्पा, ५७ केजीमा सदिना मल्ल, ६० केजीमा डाचिन शेर्पा र ६४ केजीमा अप्राजिता घतानी छानिए ।

प्रतिक्रिया दिनुहोस्