कोरोनाका कारण करिश्माको फागु कार्यक्रम स्थगित, भट्टराईको परिवारलाई सहयोग



अभिनेत्री करिश्मा मानन्धरले अभिनेता, निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व. केशव भट्टराईको परिवारलाई एक लाख एक सय एक रुपियाँ सहयोग गरेकी छिन्।
प्रत्येक वर्ष होलीको अवसरमा कलाकर्मीहरूलाई निम्त्याएर फागुको कार्यक्रम आयोजना गरी रमाइलो गर्ने करिश्माले यसपटक कोरोना भाइरसका कारण होली कार्यक्रम नराख्ने निणर्य गर्दै सो कार्यक्रममा खर्च हुने रकम भट्टराईको परिवारलाई सहयोग गरेकी हुन्। करिश्मा र उनका पति विनोद मानन्धरले नेपाल चलचित्र निर्देशक समाजमार्फत निर्देशक दिपाश्री निरौलालाई उक्त सहयोग रकम हस्तानरण गरेका हुन्।
‘हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ। चाहे दशैँ, तिहार होस् या फागु। गएको साल एसईई परीक्षाको कारणले फागु मनाउन पाइएन, यो वर्ष उत्साही थिएँ। यो बाहानाले साथीभाइ भेटघाट हुन्छ भनेर। तर अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा यस्तो नजिकबाट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा सही हुन्छ’, करिश्माको भनाइ छ– ‘परिस्थिति सहज भएपछि त अनेकौं खुसी मनाउने नै हो।’
स्व. केशव भट्टराईको परिवारलाई अमेरिकाबाट निर्देशक नारायण पुरी, किशोर सुब्बा, गोपालचन्द्र लामिछाने, यादव सिलवाल, दिनेश कार्की, अक्की शर्मा, सुमन दाहाल र विसी फुयाँलले पनि सहयोग रकम उपलब्ध गराएका छन्।
त्यसै गरी भट्टराईको अल्पायुमै असमायिक निधन हुँदा भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडसँगै आर्थिक पीडा पनि आइलागेपछि अमेरिकामा रहेका कलाकर्मीहरूले पनि सहयोग रकम जम्मा पारेका छन्।
आप्mनो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, यात्रालगायतका फिल्मका निर्माता भट्टराईको परिवारलाई लागेको ऋणको भार कम गरी सघाउन अमेरिकामा बस्दै आएका फिल्मकर्मीहरूले स्व. भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियान चलाएको छ। यस अभियानअन्तर्गत हालसम्ममा करिब नौ लाख रूपियाँ जम्मा भएको फिल्म निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेलले अमेरिकाबाट जानकारी गराएका छन्। सो रकम नेपालमा एक कार्यक्रम आयोजना गरी स्व. भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने पोखरेलले अमेरिकाबाट जानकारी गराएका छन्। यसअघि पनि विभिन्न व्यक्ति र संघसंस्थाले भट्टराईको परिवारलाई सहयोग गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्