‘आयोग खुलाउने कि कार्यकर्ता भर्ती गर्ने’



नेपाल समाचारपत्र, चितवन
पूर्वशिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकको पेसागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३०औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेसालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी गरेका हुन् ।
संघीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्दा स्थानीय सरकारहरुले स्थानीयस्तरमै आफुखुसी ऐन नियम बनाउन थालेका भन्दै केसीले शिक्षामा समस्यामाथि समस्या थप्ने काम सरकारले गरिरहेको बताए ।
‘भर्खरै अस्थायी शिक्षक समस्या समाधान भएको थियो फेरि स्वयंसेवक शिक्षकका नाममा अर्को अस्थायी शिक्षक समस्या सिर्जना गर्ने काम भएको छ’, केसीले भन्नुभयो– ‘स्वयंसेवक शिक्षकका नाममा शिक्षालाई तहसनहस पार्ने खेल शुरु भइसकेको छ ।’
शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गरिनुपर्नेमा जोड दिँदै उहाँले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने जिकिर गर्नुभयो । शैक्षिक गुणस्तर नष्ट गर्दै शिक्षामा राजनीति गर्दा मुलुक वर्षौं पछाडि धकेलिने उहाँको भनाइ छ ।
‘विद्यालय कर्मचारी, राहत, ईसीडी शिक्षकको स्थायी समस्या समाधान गर्नको साटो सरकार पुनः अर्को समस्या खडा गर्न उद्दत रहेकाले शिक्षकहरूले नै यसको विरोध गर्नुपर्छ ।’ –केसीले भन्नुभयो । आफू शिक्षामन्त्री हुँदा शिक्षकहरुसँग सडकमै गएर सम्झौता गरेको स्मरण गर्दे उहाँले विद्यालय कर्मचारी र ईसीडी शिक्षकको समस्या समाधानमा चासो दिन सरकारसँग आग्रह गर्नुभयो ।
नेपाल शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिनाले सरकारले भर्ती गर्न खोजेको स्वयंसेवक शिक्षकले शिक्षामा झनै विभेद ल्याउने र गुणस्तर खस्कने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेलले समयसँगै शिक्षक आन्दोलन र शिक्षाका कोर्षहरु बदलिँदै जाने बताए । अब नेतृत्वका लागि विद्यालय सुधार मापदण्ड बन्नुपर्ने भन्दै कँडेलले शिक्षकको पहिलो कर्तव्य भनेकै कक्षाकोठामा असल शिक्षण गर्नु भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्