पर्वतका पाँच स्वास्थ्य चौकी अस्पतालको रुपमा स्तरोन्नती हुँदै



न्युज अफ नेपाल,पर्वत ।

एउटा स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने सरकारी अभियान अन्तर्गत पर्वत जिल्लाका पाँच वटा स्वास्थ्य संस्थाको स्तरोन्नती हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्वतका दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरउन्नती गर्न लागेको हो ।

मन्त्रालयले यस आर्थिक बर्षमा पर्वतको कुस्मा नगरपालिका स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको हो । मन्त्रालयले पर्वतको फलेबास नगरपालिकाको देबिस्थान स्वास्थ्य चौकी, मोदी गाउँपालिकाको देउपुर स्वास्थ्य चौकी र पैंयु गाउँपालिकाको हुवास स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।

पर्वतको महाशिला गाउँपालिका स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्र गत बर्ष नै अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भैसकेको थियो । मन्त्रालयले पर्वतका छिमेकी बागलुङ्ग जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा स्तरउन्नती गर्ने निर्णय गरेको छ भने मुस्ताङ्गमा दुई वटा स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

अघिल्लो वर्ष सरकारले दुई सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ करोड बजेटको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ । यस वर्षका लागी स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको सहरी विकास मन्त्रालयलाई पठाएको छ ।

पर्वतको कुस्मास्थित पर्वत अस्पताल लामो समय देखि १५ शैयाको अस्पतालको रुपमा सञ्चालनमा आएपनि यसलाई ५० शैयाको अस्पतालको रुपमा बिकास गर्न भवन निर्माण कार्य भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्