कोरोनाविरुद्धको ‘ब्याटल प्लान’ बनाउन बेलायत सरकारले बोलायो आपतकालीन बैठक



डाउनिङ स्ट्रिट ।

चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट अस्ट्रेलियामा पनि एकजनाको मृत्यु भएपछि बेलायत सरकारले आपतकालीन बैठक बोलाएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा १० डाउनिङ स्ट्रिटमा कोब्रा नेसनल सेक्युरिटी कमिटीको आपतकालीन बैठक बोलाइएको छ । बैठकमा कोरोना संक्रमणबाट बच्‍न अपनाउनुपर्ने पूर्वसावधानीका विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकबाट कोरोनासँग लड्न ‘ब्‍याटल प्लान’ बनाइने बताइएको छ ।

संयुक्त अधिराज्यमा ३६ जनामा संक्रमण देखिएकोमध्ये १२ जना इङ्ल्यान्डमा छन् । इङ्‍ल्यान्डका उच्च स्वास्थ्य अधिकारीहरुले बेलायतमा कोरोनाको तीव्र संक्रमण फैलिनसक्‍ने चेतावनी दिएका छन् । इङ्ल्यान्डका जनस्वास्थ्य चिकित्सा निर्देशक पउल कोसफर्डले कोरोनासँग लड्‍न तयारी अवस्थामा रहनुपर्ने चेतावनी दिएका थिए ।

मार्च १ मा अस्ट्रेलियामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको थियो । फ्रान्समा १३० जना संक्रमित भएका छन् भने इटालीमा १६९४ मा कोरोना संक्रमण भएको छ । त्यसैगरी १३० जनालाई जर्मनीमा स‌ंक्रमण भएको छ ।

विश्वभर तीन हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ९० हजार संक्रमित भएका छन् ।

(दी गार्जियन)

प्रतिक्रिया दिनुहोस्