सहकारी एकिकरण अभियान तीब्र, ज्योति मिर्मिरे सामुहिकमा गाभियो जन्मज्योती



मोतीराम तिमल्सिना, काभ्रे । 

पनौती, धुलिखेल, बनेपा, पाँचखा नगरपालिका र बेथान्चोक गाउँपालिका कार्यक्षेत्र भएको पनौतीमा केन्द्रिय कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी एकिकरण अभियानलाई तिब्र बनाएको छ । संस्थामा पाँचौ सहकारी जन्मज्योती महिला विकास बहुउद्देश्यीय गाभिएको छ ।

पनौती नगरपालिका वडा न ११ बल्थलीमा रहेको जन्मज्योती महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेड एकिकरण भएको छ । उक्त संस्था महिलाहरुद्वारा सञ्चालित थियो । ४ सय शेयर सदस्य र ६० लाख कारोवार गरेको उक्त संस्थाका अध्यक्ष रुकु आचार्यले सहकारीहरुको एकिकरणले सदस्यहरुको जीवन समृद्ध बनाउने अभियानलाई तिब्र बनाउन सहयोग पुग्ने बताउनु भयो । यस अघि साविक पनौती नगरपालिका वडा न ६ मा रहेको ज्योती, वडा न ३ मा रहेको मिर्मिरे, वडा न ४ मा रहेको सामूहिक महिला र वडा न ७ मा रहेको जागृती नमूना साकोस २०६९ साल माघ १९ गते एकैदिन एकिकरण भएका थिए ।

अध्यक्ष उद्धवप्रसाद सापकोटाले शेयर सदस्यहरुका हरेक समस्या समाधानमा मात्रै नभई दुख र सुख दुबैमा सहकारीले कार्य गरिरहेको बताउनु भयो । पनौतीमा आयोजित सातौ एकिकरण सभामा सहकारी अभियान, एकिकरणको आवश्यकता र औचित्यका बारेमा जानकारी गराईएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको रोहवरमा ज्योती मिर्मिरे सामूहिक साकोसका अध्यक्ष उद्धव सापकोटा र जन्मज्योती साकोसका अध्यक्ष रुकु आचार्यले हस्ताक्षर गरेर दुई सहकारी एकिकरण भएको घोषणा गर्नु भएको थियो । करिब ११ हजार शेयर सदस्य रहेको ज्योती मिर्मिरे सामुहिकमा साँढे ५ करोड बराबरको शेयर पुँजी रहेको छ । ज्योती मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले जन्मज्योती सहित अन्य चार वटा सहकारी एकिकरण गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार उहाँले अन्य सहकारीसँग पनि एकिकरण अभियान भइरहेको जानकारी दिनुभयो ।

बनेपामा रहेको मोडल साकोस पनि उक्त संस्थासँग एकिकरण गर्ने तयारी भएको छ । एकिकरण कार्यक्रममा उत्कृष्ट बचत विशेष कार्यक्रमबाट अम्बिका तिमल्सिना, उत्कृष्ट बचत साधारण तर्फ रामकुमार बञ्जारा, दैनिक बचत तर्फ रमेश सापकोटा, बाल बचतकर्ता सोनम तिमल्सिना, ऋणी ध्रुर्वराज थापा, बाबुकाजी श्रेष्ठ, चन्द्रबहादुर तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै निशुल्क दन्त शिविरमा प्राविधिक सहयोग गर्ने आईसिडी हेल्थ केयर, ईन्द्रेश्वर लोक खैजेडी भजन संरक्षण समितिलाई सम्मान गरिएको थियो ।

सोहि कार्यक्रममा संस्थामा आवद्ध शेयर ७० वर्ष भन्दा माथीका ३५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रथम उपाध्यक्ष इन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जारा, विन्धबासिनी साकोसका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ, मोडेल साकोसका कृष्ण तिमल्सिना लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाले प्रकाशन गरेको अर्धबार्षिक बुलेटिन विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी परितोष पौड्यालले मुलुकको समृद्धीका लागि सहकारी अभियान खम्बा भएकाले सहकारी अभियानलाई बलियो बनाउन सहकारी ऐनलाई कार्यान्वयन गर्ने बताउनु भयो । यस अघि जिल्लामा रहेको धेरै सदस्य भएको बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औँ स्थापनाको अवसरमा काठमाडौं जिल्लामा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्थासँग एकिकरण गरेको थियो ।

त्यस्तै सामुदायिक बचत ऋण सहकारी संस्था लिमिटेड, मनकामना साकोस, ज्याती बहुद्देश्यीय सहकारी संस्था लिमिटेड लगायतले पनि एकिकरण अभियान सञ्चालन गरिरहेका छन । काभ्रे जिल्लामा मात्र करिब १५ सय सहकारी दर्ता रहेका छन । कार्यक्रम दिपकप्रसाद दाहालले संचालन गर्नु भएको थियो । खैजेडी भजनको नेतृत्व सचिव दाहालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्