ह्विलचियर प्रयोगकर्ता तालवाराहीमा



पोखरा, नेस ।
ह्विलचियर प्रयोगकर्ताहरुले डुङ्गा शयर गर्दै तालवाराही मन्दिरको दर्शन गरेका छन् । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले फेवाकिनार र बाराही मन्दिर जाने बाटोमा अपाङ्गमैत्री संरचनाको निमार्ण गरेपछि ह्विलचियर प्रयोगकर्ताले फेवाताल घुम्ने र मन्दिर दर्शन गर्ने अवसर पाएका हुन् ।
पोखरा गणेशटोलकी ४८ वर्षिय ह्विलचियर प्रयोगकर्ता रीना पालिखेले पहिलोपल्ट वाराही मन्दिरको दर्शन गर्न पाउँदा निकै आनन्द र शान्ति अनुभूति गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “एकदुई चोटी तालतिरबाट नै दर्शन गरे अहिले अपाङ्गमैत्री बाटो बनेपछि भने आज प्रत्यक्ष यहीं आएर दर्शन गर्ने अवसर मिल्यो ।”
पोखरा पस्याङ्की ह्विलचियर प्रयोगकर्ता ३५ वर्षिय गंगा गुरुङ पनि पहिलोपल्ट बाराही मन्दिरको दर्शन गर्न पाएको निकै खुशी भएको बताउनुभयो ।
स्वाबलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेम गुरुङले बाराही मन्दिर आउने अपाङ्गमैत्री संरचना निर्माण गर्न निकै कसरत गर्नुपरेको बताउनुभयो । “निकै लामो समयदेखि ¥याम्प निर्माणमा जुटेका थियौ । बल्ल त्यो पुरा भएको छ ।” –उहाँले अष्ट्रेलियन दुतावासको सहयोगमा साढे ६ लाख आर्थिक सहयोगबाट फेवाकिनारमा आल्मुनियम र फलामको ¥याम्प र डुङ्गाबाट झरेर बाराही मन्दिर जाने ठाउँमा अपाङ्गमैत्री स्लोप राखेर ह्वियचियर लाने मिल्ने संरचनाको निर्माण गरिएको जानकारी दिनुभयो ।
१२औं अन्तर्राष्ट्रिय ह्विलचियर दिवस मार्च १ को पूर्वसन्ध्यामा पोखराका मन्दिर दर्शन कार्यक्रमअन्तर्गत पच्चीस जना ह्विलचियर प्रयोगकर्ता र उनीहरुका अभिभावकले तालवाराहीको दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्