जीर्ण सडकमा जोखिमपूर्ण यात्रा



शिक्षा पन्त, लमजुङ
विश्वप्रख्यात पर्यटकीय गन्तव्य अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मनाङसम्म जोडिएको डुम्रे–बेसीशहर सडक खण्ड ४२ किलोमिटर छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट लमजुङ सदरमुकाम जोड्ने सडकमा दैनिक ५ सयभन्दा बढी साना–ठूला सवारीसाधन गुड्छन् ।
एक लेनको यो सडक कालोपत्रे भए पनि नियमित मर्मत सम्भार नहुँदा ठाउँ–ठाउँमा भत्केको छ । यही खण्डमा लमजुङमा सञ्चालित तथा निर्माण भइरहेका विभिन्न जलविद्युत् आयोजनाका ठूला सवारीसाधन पनि गुडिरहेका हुन्छन् । साँघुरो सडक, उचित मर्मत र विस्तार नहुँदा यात्रा जोखिमपूर्ण बन्ने गरेको सवारी चालक कृष्ण थापा बताउँछन् । सवारीसाधनको बढ्दो चापसँगै धेरै लोड भएका जलविद्युत् आयोजनाहरूका सवारीसाधनले गर्दा पनि सडक छिट्टै बिग्रिएको सडक डिभिजन दमौलीका इन्जिनियर ठाकुर भण्डारी बताउनुहुन्छ ।
सडक मर्मतका लागि गत वर्ष नै नयाँ बाटो निर्माण सेवा पोखरासँग सझौता भइसकेको छ । तर, निर्माण कम्पनीेले सझौताअनुसार काम नै गरेको छैन । डुम्रे–बेसीशहर सडक आर्थिक वर्ष २०५४–०५५ मा कालोपत्रे भएयता एकपटक पनि स्तरोन्नति र मर्मत सम्भार भएको छैन ।

प्रतिक्रिया दिनुहोस्