सरकारविरुद्ध सत्तारुढ दलनिकट कर्मचारी



हेटौंडा, (नेस)
सत्तारुढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारविरुद्ध आन्दोलनको तयारी गरेको छ ।
संसदीय समितिमा सांसद्हरुले ट्रेड युनियन खारेज गर्ने बहस चलाएपछि संगठनले ट्रेड युनियन खारेज नगर्न चेतावनी दिँदै आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो । संगठनको फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले आन्दोलनको निर्णय गरेको थियो ।
संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणका क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेकोप्रति संगठन आन्दोलित भएको हो । संघीय निजामती सेवा ऐन, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको बेला ट्रेड युनियन खारेज गर्ने तयारी भएको भन्दै संगठनले आन्दोलन सुरु गर्ने तयारी गरेको संगठन केन्द्रीय सदस्य विष्णु अर्यालले बताउनुभयो ।
देशका ७ वटै प्रदेशबाट आन्दोलन सुरु गर्ने तयारीमा रहेको संगठनको बाग्मती प्रदेशस्तरीय आन्दोलन परिचालन एवं जागरण अभियान कार्यक्रम हेटौंडामा गरेको छ । सरकारले निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने तयारी गरेको विरुद्धमा आन्दोलन सुरु गर्न लागेको संगठनले हेटौंडामा बागमती प्रदेशस्तरीय आन्दोलन परिचालन एवं जागरण अभियान गरेको हो ।
संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माण हुँदा समावेश गरिनुपर्ने विषयका सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठनले प्रस्तुत गरेका मागहरु पूरा गराउन आवश्यक पर्दा गरिने आन्दोलनका लागि केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम प्रदेशस्तरीय आन्दोलन परिचालन एवं जागरण अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका अध्यक्ष एवम् सदस्यको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्