विवादको मध्यमार्गी निकास निस्कन्छः गृहमन्त्री थापा



नेपाल समाचारपत्र, पर्वत ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई अहिले नै प्रधानमन्त्री बनाउने योजना नभएको बताउनुभएको छ ।
नेकपा पर्वतले कुस्मामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सचिवालय सदस्य थापाले गौतमलाई अहिले नै प्रधानमन्त्री बनाउने योजनाअनुसार राष्ट्रिय सभामा लैजान नखोजेको स्पष्ट पार्नुभएको हो ।
‘पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि बढाउने निर्णय भइसकेको छ’, उहाँले भन्नुभयो– ‘वामदेवजीलाई अहिले नै प्रधानमन्त्री बनाउन होइन, त्यस्तो अवस्था आएमा सहज बनाउनका लागि मात्रै संविधान संशोधन गर्न खोजिएको हो ।’ गौतमलाई राष्ट्रिय सभामा पठाउनका लागि सचिवालयले सर्वसम्मत निर्णय गरेको र त्यसमा कसैले नोट अफ डिसेन्ट नलेखेको उहाँले स्पष्ट पार्नुभयो । आफ्ना फरक मत भए पनि औपचारिकरुपमा बैठकमा दर्ज नभएको हुँदा यो निर्णय पनि सहमति र सर्वसम्मतिका साथ भएको उहाँको दाबी छ ।
संविधान संशोधनको विषय गौतमको विषयमा मात्रै नभई मधेसवादी दलले उठाउँदै आएका विषयहरुलाई समेत सम्बोधन गर्ने गरी अघि बढाउन खोजिएको तर विवादित बनेपछि फिर्ता भएको थापाको भनाइ छ । ‘पछिल्लो समय देखिएको विवादको मध्यमार्गी समाधान निकाल्ने, अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडालाई नै निरन्तरा दिने र राष्ट्रिय सभामा गौतमलाई पठाउने गरी मध्यमार्गी निर्णय हुनेछ ।’ –उहाँले भन्नुभयो ।
एमसीसीमा रहेका भित्री अन्तर्वस्तुका बारेमा अध्ययन कार्यदलले सुझाव दिएका कारण सुझावका आधारमा पार्टी सचिवालयले निर्णय गर्ने थापाको भनाइ छ । ‘एमसीसीमा रहेका धेरै विवादास्पद कुराहरू संशोधन गरी पारित हुन्छ ।’ –उहाँले भन्नुभयो ।
कोरना त्रास

प्रतिक्रिया दिनुहोस्