दोस्रो काभ्रे गोल्ड कप चैत्र १३ देखि, ६ लाख पुरस्कार राशी



मोतीराम तिमल्सिना, काभ्रे । 

काभ्रे जिल्ला फुटबल संघको आयोजनामा दोस्रो काभ्रे गोल्ड कप २०७६ धुलिखेलको फुटबल मैदानमा आगामी चैत्र १३ गते देखि २२ गतेसम्म हुने भएको छ ।

गोल्डकपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन तथा मैत्रीपूर्ण फुटसल प्रतियोगितामा काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकासनारायण श्रेष्ठले दोश्रो संस्करणका बारेमा जानकारी गराउनु भएको थियो । पहिलो गोल्डकपमा भएका केहि ब्यवस्थापिक त्रुटीलाई सच्याउँदै त्यसकै अनुभवले गोल्डकपलाई भब्य बनाउने प्रयास गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेपालका प्रतिष्ठित ए डिभिजनका ७ टिम र काभ्रे, सिन्धुपाल्चोक र दोलखा जिल्ला समेत गरी १० टिमको सहभागिता रहनेछ । जिल्लाकै ठुलो पुरस्कार राशीको उक्त प्रतियोगिता नक आउटको माध्यमबाट खेलाईनेछ । पहिलो गोल्डकपमा प्रथम हुने टिमले ४ लाख पुरस्कार प्राप्त गरेको थियो । यो वर्ष ६ लाख पहिलो टिमले पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले ३ लाख रुपैया पाउनेछ । हरेक खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद १० हजार पुरस्कार पाउने छ । प्रतियोगितामा ४८ लाख २५ हजार खर्च हुने प्रतियोगिताका मुख्य संयोजक अमित खोँजु श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, अखिल नेपाल फुटबल संघ एवं राष्ट्रिय रेफ्रि संयोजक रविन्द्रनाथ श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष एवं प्रथम काभ्रे गोल्ड कपका मुख्य संयोजक निरोज श्रेष्ठ, सचिव जयोज नर्सिङ्ग श्रेष्ठ, कोषाध्यक्ष प्रभात श्रेष्ठ, फिपा रेफ्रि माधव केसी, सल्लाहकार कञ्चन नापित लगायतको सहभागिता रहेको थियो । प्रथम गोल्ड कपमा ५० लाख खर्च भए पनि १० लाख रुपैया घाटा भएको कोषाध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितामा खेलाडीहरुलाई खेल सामाग्री, खेल मैदान, पूर्वाधार निर्माण, खेलाडीहरुको यातायात खर्च, निर्णायक खर्च, टिम आवास तथा भोजन, औषधी उपचार, कार्यालय ब्यवस्थापन लगायतमा खर्च हुने आयोजकले बताएका छन् ।

प्रतियोगिताका बारेमा जानकारी दिदै मैत्रीपूर्ण फुटलस प्रतियोगितामा काभ्रे जिल्ला फुटबल संघको टिमले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको टिमलाई २ का विरुद्ध ६ गोल गरेको थियो । पत्रकारहरुको तर्फबाट अध्यक्ष मोतीराम तिमल्सिना र संघका तर्फबाट अध्यक्ष विकासनारायण श्रेष्ठले नेतृत्व गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्