खेलकुदलाई उचाइमा पुर्याउने योजना मसँग छः स्थापित



राजेश्वरमान स्थापित नेपाली खेलकुद जगत्का चिरपरिचित नाम हुन्। समग्र नेपाली खेलकुद र जिमन्यास्टिकमा उनको योगदान अतुलनीय छ। राष्ट्रिय प्रतियोगितामा उहाँले जिमन्यास्टिकको सम्पूर्ण ७ वटै इभेन्ट्समा स्वर्ण जितेर कीर्तिमान बनाउनुभएको छ। जुन कीर्तिमान आजसम्म कायमै रहेको छ। हाल जिमन्यास्टिकका प्रमुख प्रशिक्षकको रूपमा कार्यरत उहाँ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ। उहाँले भारतको पटियालास्थित नेताजी सुभाष चन्द्र बोस नेसनल इन्स्टिच्यूट अफ स्पोर्ट्सबाट डिप्लोमा कोर्स पूरा गर्नुभएको छ। हाल काठमाडौं महानगरपालिकाका मेयर विधासुन्दर शाक्यका स्वकीय सचिवसमेत रहनुभएका उहाँसँग नेपाली खेलकुदको विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानीको सार संक्षेप।
खेलकुदमा लाग्नुभएको कति भयो ?
२०३८ सालदेखि अहिलेसम्म निरन्तर लागिरहेको छु। शुरुमा फुटबलमा लागेको भए पनि जिमन्यास्टिकलाई भने निरन्तरता दिइरहेको छु।
जिमन्यास्टिकतिर कसरी आकर्षित हुनुभयो ?
सानोमा दाइहरूसँग रंगशालामा फुटबल हेर्न जाँदाजाँदै जिमन्यास्टिक खेलाडीहरूलाई देखेर यो खेलमा रुचि बढेको थियो। कक्षा ६ मा हुँदा नै यो खेलमा लागेको हुँ।
कति वर्ष भयो जिमन्यास्टिकमा लाग्नुभएको ?
झन्डै ३६ वर्ष जति हुन लाग्यो। शुरुमा जापानी गुरु तारासी हथोरीसहित नेपालका पूर्णमान र मुकन्दलालजस्ता दिग्गज गुरुहरूसँग प्रशिक्षण लिएको थिएँ। पहिले जिमन्यास्टिकका अन्तर्राष्ट्रिय खेलाडी थिएँ, अहिले मुख्य प्रशिक्षक भएर यो खेलप्रति समर्पित छु।
जिमन्यास्टिक कस्तो खेल हो ?
यसलाई ‘मदर अफ स्पोर्ट्स’ भनिन्छ। हरेक खेल खेल्न जिमन्यास्टिकको बेसिक टेक्निकहरू अपनाउनु पर्ने भएकाले यसो भनिएको हो। यसमा फ्लोर एक्सरसाइज, भल्टिंग टेबल, रोमनिंग, होरिजेन्टल बार, पेरेलल बार र ओभरअललगायतका इभेन्ट्सहरूमा प्रतिस्पर्धा हुन्छ।
जिमन्यास्टिकबाट कस्तो अनुभव संगाल्नुभएको छ ?
धेरै उतारचढाव भोगेको छु। राष्ट्रियस्तरको प्रतियोगितामा जिमन्यास्टिकको सम्पूर्ण ६ वटा इभेन्ट्स र अलराउन्डमा गरी कुल ७ वटा स्वर्ण पदक जितेर मैले राखेको कीर्तिमान अझै पनि कायमै छ। अन्तर्राष्ट्रिय पदक भने सन् १९९२ मा जितेको थिए। जिमन्यास्टिकको एसियन च्याम्पियनसिपमा २ वटा काश्यपदक जितेको त्यो क्षण सुखद् र अविष्मरणीय बन्यो। त्यतिबेला घुँडाको समस्याले सताएको थियो। तर पनि पेन किलरको १४ वटा इन्जेक्सन लिएर पदक जित्न सफल भएको थिए। त्यो पदक जितेबापत् राज्यले मलाई ३३ हजार नगद दिनुका साथै अन्य क्षेत्रबाट पनि सम्मान गरेको थियो। दुखद् कुरा सम्झनुपर्दा, खेलाडी छँदा उत्कृष्ट फर्ममा रहेको समय एउटा दुर्घटनाले गर्दा करियरलाई नै थाती राख्नुप¥यो। उपचारपछि परिवारले खेलमा नलाग्न दबाब दिएपछि खेल्न छोडेको हुँ।
पुनः जिमन्यास्टिकमा कसरी फर्कनुभयो ?
आफूले नखेले पनि नयाँ प्रतिभा जन्माउने धोको थियो। अनि मेरो गुरुवर्गले पनि मलाई यो खेलको विकासमा योगदान दिनुपर्छ भनेर हौसला दिनुभयो।
नेपाली जिमन्यास्टिकको विगत र वर्तमानमा के भिन्नता छ ?
विगतमा भन्दा अहिले धेरै राम्रो अवस्थामा पुगेको छ। राज्यले भने यो खेललाई प्राथमिकतामा राखेको देखिँदैन।
खेलाडीहरू कसरी उत्पादन भइरहेको छ ?
अहिले प्रशिक्षणस्थलको अभाव छ। तर पनि सातदोबाटोमा ट्रेनिंग हुने गरेको छ। २०७२ सालको भूकम्पपछि दशरथ रंगशालाको पुननिर्माण भएपनि जिमन्यास्टिकको प्रशिक्षणस्थल भने हामीलाई उपलब्ध हुन सकेको छैन।
नेपालमा जिमन्यास्टिक छायाँमा पर्नु कारण के हो ?
छायाँमा परेको भन्दा पनि छायाँ पारिएको भन्न चाहन्छु म। नेपाली खेलकुद हाँक्ने संस्थाहरूले जिमन्यास्टिकजस्तो ओलम्पिकको अफिसियल खेललाई सधंै बेवास्ता गर्दै आएको छ। खेलकुदका प्रतिष्ठित प्रतियोगितामा जिमन्यास्टिक खेल सधैं वञ्चित हुनुपरेको छ। जिमन्यास्टिकलाई प्राथमिकतामा नपार्नु दुर्भाग्यपूर्ण हो।
यस विषयमा नेपाल जिमन्यास्टिक संघले पहल गर्नुपर्ने होइन र ?
संघले पहल नगरेको होइन, तर राज्यको ध्यान नै जान सकेको छैन। अन्य खेलको तुलनामा जिमन्यास्टिकका लागि आउने रकम ज्यादै न्यून छ। उहिले जापानबाट प्राप्त जुन खेल औजार र सामाग्रीमा ट्रेनिंग गरेर मैले एसियन च्याम्पियनसिपमा मेडल जितेको थिएँ त्यही सामग्रीमा अहिलेको पुस्ताले पनि प्रशिक्षण गरिरहेका छन्। अहिले एउटा सामग्री पाउनका लागि थुप्रैपटक ताकेता गर्नुपर्ने अवस्था छ। २०७२ को भूकम्पपछि त झन् प्रशिक्षणस्थलको पनि टुंगो नभएको अवस्था छ। १३औं साग सकेलगत्तै दशरथ रंगशालामा नै प्रशिक्षणस्थल उपलब्ध गराउने आश्वासन दिइए पनि अहिलेसम्म उपलब्ध हुनसकेको छैन। यसले जिमन्यास्टिक खेलमा रूचि भएका खेलाडीहरू घट्न थालेका छन्।
जिमन्यास्टिक प्रतियोगिता कसरी हुने गरेको छ ?
बजेट अभावका कारण अहिले वार्षिक एक अथवा दुई वटा प्रतियोगिता मात्र हुने गरेको छ। प्रतियोगिता गर्ने विषयमा संघ गम्भीर भए पनि राज्यले गर्नुपर्ने साथ र सहयोगको अभाव छ।
जिमन्यास्टिक खेलाडी उत्पादनका लागि कस्तो योजना बनाउन आवश्यक छ ?
ग्रासरूटदेखि नै प्रशिक्षण गर्ने माहोल बनाउनुपर्दछ। विद्यालयस्तरदेखि नै यो खेललाई अपनाउने वातावरण सिर्जना गरिनुपर्छ भनेर संघले कार्ययोजनाको खाका बनाएर राखेपका पूर्वसदस्यलाई बुझाइसकेको छ। तर, अझै पनि कार्यान्वयन भने हुन सकेको छैन।
तपाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को संस्थापक अध्यक्षसमेत हुनुहुन्छ, यो संगठन स्थापना गर्नुपर्छ भन्ने सोच कसरी आयो ?
त्यतिबेला खेलाडीको समस्या अहिलेको भन्दा दयनीय नै मान्नुपर्छ। देशको लागि सबथोक त्यागेर खेलमा समर्पित भए पनि खेलाडीको मर्कालाई बुझ्ने संयन्त्रको अभाव थियो। खेलाडीको हकहितका लागि नै एनएनआईपीए आवश्यक ठानेर स्थापना गरेका हौं। मलगायत हीरासिंह डंगोल, संगीना वैद्य, दीपक विष्ट, उपेन्द्रमान सिंहजस्ता चर्चित खेलाडीसहित सयौंका संख्यामा अन्य थुप्रै प्रतिभाशाली खेलाडीहरूको सक्रियतामा यो संघ गठन गरिएको हो। जसका लागि हामीले खेलकुदसँग सम्बन्धित प्रमुख संस्थाहरूलाई दबाब दिएका थियौं। त्यतिबेला हामीले नेपाल ओलम्पिक कमिटीमा समेत ताला लगाएका थियौं।
एनएनआईपीए स्थापनाको मुख्य उद्देश्य के हो ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको हकहितको सुरक्षा र उनीहरूले राज्यबाट पाउनुपर्ने सेवा र सुविधाको सुनिश्चितता नै एनएनआईपीएको मुख्य उद्देश्य हो। विगतमा भन्दा अहिले यो संगठन फराकिलो बन्दै गएको छ। खेलाडी र खेलसँग सम्बन्धित व्यक्तिहरूलाई गरिने सम्मानमा वृद्धि भएको छ। भविष्यमा यसको आकार अझै बढ्छ भन्ने विश्वास छ।
नेपाली खेलकुदको विगतभन्दा अहिले के भिन्नता छ ?
व्यापक भिन्नता छ। पहिले पदक जित्ने खेलाडीले विरलै नगद पुरस्कार पाउने गर्थे भने अहिले त्यसमा व्यापक सुधार आइसकेको छ। त्यसबाहेक अन्य सेवा सुविधा पनि पहिलेको भन्दा बढेको छ।
नेपाली खेलकुदको मुख्य समस्या के हो जस्तो लाग्छ ?
खेलकुदमा राजनीति हाबी छ। खेलकुद भनेको राजनीति गर्ने थलो होइन। मुख्यतः राजनीतिक हस्तक्षेप नेपाली खेलकुद विकासको प्रमुख बाधक हो। खेललाई खेलाडी र खेलसम्बद्ध व्यक्तिले जति बुझेका हुन्छन्, त्यति गहिराइमा अन्य क्षेत्रकाले बुझ्न सक्दैनन्। खेलकुदमा योगदान पु¥याउनेहरूको डाटा संकलन गरी त्यसैअनुसारको जिम्मेवारी दिईनुपर्छ। राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व खेलाडीले गर्नुपर्छ। खेलकुद हाँक्न खेलसँग सम्बन्धित व्यक्तिले नै जिम्मेवारी पाउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ। राजनीतिक हस्तक्षेपबाहेक पूर्वाधारको अभाव र खेलाडीलाई दिइने अपुग सेवा र सुविधा पनि अर्को प्रमुख समस्या हो।
सबै चर्चित खेलाडी राम्रो प्रशिक्षक त बन्न सक्दैन भन्छन्, कसरी कुशल खेल प्रशासक बन्लान् त ?
खेलाडी कुशल खेल प्रशासक बन्न नसक्ला भन्ने कुरै आउँदैन। खेलाडी आफंैमा कुशल नेतृत्वकर्ता हुन्। खेलाडी भनेको देशको गौरव र प्रतिष्ठाका राजदूत पनि हुन्। खेलको माध्यमबाट देशको इज्जत बढाउने श्रेय खेलाडीले पाउँछन्। अनि खेल प्रशासकको जिम्मेवारी सम्हाल्न नसक्ने भन्ने कुरा कसरी आउँछ र। बरु राज्यले त्यतातिर ध्यान दिनु आवश्यक छ। राखेपको विधानमा खेल संघको कार्यसमितिमा प्रशिक्षक बस्न नपाउने भनि लेखिएको कुरा मलाई चित्त बुझेको छैन। प्रशिक्षक र खेलाडीले नै खेलकुदलाई राम्ररी बुझेका हुन्छन्, अनि उनीहरू नै कार्यसमितिमा बस्न पाएन भने खेलको विकास कसरी सम्भव होला त।
तपाईंले खेल विषयमा डिप्लोमा गर्नुभएको हो ?
हो, दुई दशकअघि मैले पटियालाबाट खेलकुद सम्बन्धित सम्पूर्ण विषयमा एनएसएनआईएसबाट अध्ययन पूरा गरेको हुँ। एनएसएनआईएस कोर्स सकाएपछि मबाट प्रभावित भएर खेल विषयमा विद्यावारिधि गर्नुभएका डा. गुरु दयाल सिंह बाबाले मलाई भारतमै बस्न आग्रहसमेत गर्नुभएको थियो। त्यहाँ बस्नाका लागि मेरो सम्पूर्ण व्यवस्था मिलाउन उहाँ राजीसमेत हुनुभएको थियो। तर, आफूले जानेको ज्ञान नेपालमा पनि सिकाउनुपर्छ भन्ने लागेर यता फर्केको हुँ। त्यसैअनुरूप मैले नेपाल आएर ती विषयहरू पढाउन शुरु गरेको हुँ। मैले पढाएका कतिपय खेलाडी र प्रशिक्षकले अहिले खेलकुदमा राम्रो योगदान दिइरहेका पनि छन्। तीमध्ये नामै लिनुपर्दा हाल अमेरिकामा खेललाई नै कर्मथलो बनाएर बसेका गिनिज वल्र्ड रेकर्डधारी दिनेश सुनुवार पनि एक हुन्।
खेलकुदमा पोख्त हुँदाहुँदै अहिले प्रशासनिक संयन्त्रतिर कसरी जोडिनुभयो ?
नेपाली खेलकुदमा एक से एक पोख्त व्यक्तिहरू छन्। तर दुर्भाग्य नै भन्नुपर्ला, राज्यले ती सबैलाई समेट्न सकेको छैन। जीविकोपार्जनका लागि खेलकुद नै भनेर मात्र पनि नपुग्ने अवस्था छ। दैनिक जीवनयापनका लागि खेलकुदबाहेक अन्य काम पनि गर्नुपर्छ। मैले पनि अहिले त्यही गर्दै छु। काठमाडौं महानगरका मेयर सरले मलाई विश्वास गर्नुभएकाले नै म अहिले उहाँको स्वकीय सचिवको रूपमा कार्यरत छु।
भनेपछि खेलकुदबाट टाढिने सोच बनाउनुभएको हो ?
होइन, खेलकुदबाट टाढिने कुरै आउँदैन। बरु आफूले जानेका ज्ञान नयाँ पिँढीलाई बाँडेर खेलकुदको विकासमा समर्पित हुन चाहन्छु। अझ भन्नुपर्दा खेलकुदमा उच्च तहको जिम्मेवारी सम्हाल्ने लक्ष्य लिएको छु। नेपाली खेलकुदलाई उचाइमा पु¥याउने योजना मसँग छ। यस्तो सोच मैले मात्र होइन, खेलकुदमा पोख्त हरेकले बनाएमा मात्र नेपाली खेलक्षेत्रले फड्को मार्नेछ।

प्रतिक्रिया दिनुहोस्