“हस्तकला प्रवद्र्धन गर्नेछौं”



विनोद ताम्रकार, ललितपुर महानगरपालिका–१९ का वडाअध्यक्ष हुनुहुन्छ। यसअघि २०५४ सालमा भएका स्थानीय निकायको निर्वाचनमा पनि सोही वडामा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। करिब तीन महिनापछि स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा हुनेछ। यसै सन्दर्भमा वडाध्यक्ष ताम्रकारसँग अहिलेसम्मको उल्लेखनीय गतिविधि, आगामी वर्षका कार्यक्रमबारे नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंले अहिलेसम्म गर्नुभएको उल्लेखनीय काम के हो ?
बडावासीको आकांक्षाअनुसार क्षमताले भ्याएसम्म काम गर्दै आएको छु। घोषणापत्रअनुसार नै काम गरेका छौं। तीन वर्षमा हामीले करिब ७० प्रतिशत प्रतिबद्धता पूरा गरेका छौं। पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतासाथ अगाडि बढाएका छौं। यसबीचमा इखालखुदेखि इटीटोलसम्मको ३ सय मिटर बाटोमा ढुंगा छाप्ने काम सम्पन्न भएको छ। यो कामलाई अहिलेसम्मको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छु। त्यो बाटो महापालबाट सीधै पाटन अस्पताल जाने बाटो हो। १ करोड ८ लाखको लागतमा बाटोमा ढुंगा छाप्ने काम उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको हो।
त्यसपछि इवाबही (बौद्ध विहार), किन्हुबहीमा तेलिया इँटा छाप्ने काम भएको छ। त्यसै गरी भूकम्पबाट क्षतिग्रस्त नारायण मन्दिर, बलिम्ह टोलको मन्दिर पनि पुनर्निर्माण सम्पन्न गरेका छौं। यी कार्यहरूलाई अहिलेसम्म भएका महत्वपूर्ण कार्यका रूपमा लिन सकिन्छ।
तपाईंले उल्लेख गर्नुभएका काम कर्मचारी संयन्त्रले स्थानीय तह सम्हाल्दा पनि भएकै हो। ती कामलाई नै उल्लेखनीय मान्न मिल्छ र ?
पूर्वाधार निर्माणको सवालमा अहिलेसम्म भएकामध्येका महत्वपूर्ण काम हो। जनप्रतिनिधि आएपछि योजना सञ्चालनमा स्थानीयको प्रत्यक्ष सहभागिता, अपनत्व बढेको छ। धेरै क्षेत्रमा काम भएको छ। स्थानीयको पीरमर्का बुझ्ने, गुनासो सुनवाइ गर्ने कार्य, सम्बोधन गर्ने कार्य भएको छ। यसलाई जनप्रतिनिधि आएपछि भएको परिर्वतनका रूपमा लिन सकिन्छ। हो, वडाबासीको आकांक्षालाई पूर्णरूपमा सम्बोधन गर्न सकेको छैन। यथोचितरूपमा वडाबासीको इच्छा–आकांक्षालाई सम्बोधन गर्ने प्रयत्न गरिरहेको छु
उपभोक्ता समितिमार्फत काम गराउन कतिको गाह्रो छ ?
कुल लागतको १० प्रतिशत उपभोक्ता समितिबाटै हाल्नुपर्ने जुन प्रावधान छ, त्यसको कार्यान्वयनमा अलि गाह्रै नै छ। तैपनि योजनाबाट प्रत्यक्ष प्रभावित हुने स्थानीयलाई सम्झाएर, बुझाएर काम गराइरहेको छु। अहिलेसम्म कुनै पनि योजना ठेकादारमार्फत सञ्चालन गरेको छैन। गाह्रोसाह्रो भए पनि उपभोक्ता समितिमार्फत काम गराइरहेका छौं।
संस्कृति संरक्षणको क्षेत्रमा के–के गर्नुभयो ?
चालू आर्थिक वर्षमा मतया पर्वका लागि १ लाख रुपियाँ सहयोग गरें। युवापुस्तालाई परम्परागत बाजागाजा सिकाउन बजेटको विनियोजित गरेको छु। टोलटोलमा हुने नामसंगीति पाठका लागि पनि वडाले सहयोग गर्दै आएको छ।
वडाबासीबाट मुख्यरूपमा आउने गुनासा के–के हुन् ?
यस वडामा खानेपानीको निकै समस्या छ। खानेपानीको हाहाकार भएको गुनासा लिएर आउने वडाबासी धेरै रहेका छन्। ढलको निकासाको समस्या पनि छन्।
ती समस्याहरू समाधान गर्ने के योजना छ ?
अग्निशाला, मच्छिन्द्र बहालमा वाटर ट्रिटमेन्ट प्लान्ट स्थापना गरेर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप पानी जमिनबाट निकाल्ने योजना रहेको छ। ढल निकासको समस्या समाधान गर्न इखालखुदेखि पूर्णचण्डीसम्म पाइप बिछ्याउने काम भएको छ।
फोहोर व्यवस्थापन कसरी भइरहेको छ ?
महानगरपालिकासँग दुईवटा वडालाई एउटा फोहोर व्यवस्थापन गर्ने गाडीको माग गरेका छौं । तर, जनशक्ति अभावका कारण फोहोरको गाडी हाम्रो वडामा आउन सकेको छैन । महानगरमा डम्पिङ साइट नहुँदा समस्या हुने गरेको छ । एक प्राइभेट कम्पनीले हाम्रो वडाको फोहोर व्यवस्थापन गरिरहेको छ । वडाबासीले पनि यो अभियानमा सहयोग गरेका छन्।
बाँकी दुई वर्षमा के–के गर्ने सोच रहेको छ ?
यस वडामा काष्ठकला, तामापित्तल, धातुकलाका लागि प्रख्यात छ। ललितपुरलाई वल्र्ड क्राफ्ट काउन्सिलले विश्वको ३५औं हस्तकला नगरी घोषणा गरेको छ। अहिले धमाधम हस्तकला व्यवसाय संकटमा पर्न थालेका छन्। यसले गर्दा आगामी दिनमा हस्तकला व्यवसायीको प्रवद्र्धनका लागि तालिम सञ्चालन गर्ने योजना रहेको छ।
त्यसै गरी चालू आर्थिक वर्षमा शान्ति सुरक्षा र अपराधमुक्त क्षेत्र बनाउन १६ ठाउँमा सीसी टिभी राखेका छौं। यसलाई आगामी वर्षमा पनि निरन्तरता दिनेछौं।
तपाईं कार्यपालिकाको एक सदस्यको दृष्टिले महानगरपालिकाको कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
महानगरपालिकाको समग्र काममा सन्तुष्टि हुने अवस्था छैन।
मेयरले विपक्षी दलले सहयोग गरेन भनेर सार्वजनिक कार्यक्रममा बारम्बार बोलेको सुनिन्छ। यसमा कतिको सत्यता छ ?
अहिलेसम्म मेयरले ल्याएको एउटा पनि प्रस्ताव हाम्रै कारणले पारित नभएको अवस्था छैन, जबकि कार्यपालिकामा हाम्रो बहुमत छ। योभन्दा ठूलो सहयोग अरू के हुन्छ र ? रह्यो कुरो मतभेदको। छलफलका क्रममा कुनै विषयमा मतभेद हुनु स्वभाविक नै हो। बहस छलफलमा फरक मत आउनुलाई अन्यथा लिनु भएन। यसलाई नै असहयोगका रूपमा लिनुहुन्छ। नेतृत्वले विवादका बीच, असहमतिका बीच सहमति पहिल्याउन नेतृत्व कौशल, समन्वय गर्ने हो। सफलता जति आफूले गरेर भएको र असफलताको जतिको दोष विपक्षको थाप्लोमा होल्ने शैली युक्तिसंगत छैन।
जनप्रतिनिधिको तलब रोक्का भएपछि कस्तो प्रभाव पारेको छ ?
दिन–रात वडाको काममा खटिएपछि पारिश्रमिक त आवश्यक नै हुन्छ। काम गर, तलब नलिनू भन्ने अलि व्यावहारिक भएन। यसले प्रकारान्तरले भ्रष्टाचारलाई प्रश्रय दिनेछ। व्यापार व्यवसाय हुनेलाई फरक पर्दैन होला तर दिनभर काम गरेर पनि परिवार चलाउन गाह्रो हुने अवस्थाले राम्र्ररी काम गर्न कठिन हुन्छ। एक जना मानिसले दिनरात काम गरेपछि न्यूनतम जीवनयापनको वातावरण बनाउनुपर्दछ। संविधानले सेवा सुविधा लिनुपर्छ भनेको छ। लिने कुरालाई व्यवस्थापन गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्