हिमालय संरक्षणमा हातेमालो गर्न जोड



काठमाडौं, (नेस) ।
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले हिमालय संरक्षणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।
मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाद्वारा बिहीबार खाँदबारीमा आयोजित ‘हिमालय बचाऔँ नदी जोगाऔँ’ विषयक नागरिक सभामा बोल्दै डा. पाण्डेले वातावरण संरक्षण राज्यको प्राथमिकता हुनुपर्ने बताउनुभयो। उहाँले ५७ वर्ष अगाडि जनप्रतिनिधिका रूपमा खाँदबारीमा बसेर काम गरेको स्मरण गर्दै मकालुको काखमा अवस्थित संखुवासभाको पर्यावरण संरक्षित राख्न आग्रह गर्नुभयो।
वातावरण बचाउन राज्य र समाज गम्भीर नहुने हो भने अकल्पनीय वातावरणीय संकट उत्पन्न हुन सक्ने शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभयो। पहाडीले जगत् नरहे जीवन नरहने भन्दै जगत्मुखी, जीवनमुखी र सेवामुखी उद्देश्यले कार्य गर्न आग्रह गर्नुभयो।
शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले नदी सफाइ अभियानको अनुभव साझेदारी गर्दै नदीनाला प्रदूषित र विकृत नबनाउन आग्रह गर्नुभयो। कार्यक्रममा नागरिक आन्दोलनका अगुवा एवं कवि अर्जुन पराजुली र छन्दकवि सुदेश सत्यालले समसामयिक विषयमा कविता प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्