सुदूरपश्चिम प्रदेश आफैँमा समृद्ध छः राष्ट्रपति भण्डारी



विनोद सिंह विष्ट, बैतडी ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश आफैंमा समृद्ध रहेको बताउनुभएको छ। बिहीबार बैतडीको पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन उद्घाटन गर्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो।
‘सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश छ’, उहाँले भन्नुभयो– ‘प्रदेशको समग्र विकासका लागि सम्बन्धित पक्षको ध्यान पुग्नेछ।’
यसका साथै उहँँले बैतडीले क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएकोमा प्रशंसासमेत गर्नुभयो। उहाँले भन्नुभयो– ‘क्रिकेटको विकास र खेलाडी उत्पादनमा बैतडी जिल्लाको ठूलो भूमिका छ।’
यसका साथै उहाँले प्राविधिक शिक्षाले यस क्षेत्रका युवाहरूलाई स्वदेशमै रोजगारी दिने बताउनुभएको छ। उहँँले भन्नुभयो– ‘प्राविधिक शिक्षालयको स्थापनाले उद्यमशिलताको विकास भई कुटिर उद्योग स्थापनामा योगदान पु¥याउनेछ।’
सांस्कृतिक पर्यटनको ठूलो सम्भावना रहेको सुदूरपश्चिम प्रदेशमा खेलिने देउडा, छलिया नृत्य, र गौरा पर्वले आन्तरिक पर्यटन उद्योगमा टेवा पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभयो।
यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र पश्चिमसेती परियोजना लागू गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो।
सोही कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर विकासमा शिक्षक विद्यार्थी र अभिभावकको उत्तिकै भूमिका रहने बताउनुभयो।
बैतडीका समसामयिक विषयवस्तु राष्ट्रपतिसमक्ष प्रस्तुत गर्दै सघींय सांसद दामोदर भण्डारीले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो।
सोही समारोहमा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले राष्ट्रपतिसमक्ष नागरिक अभिनन्दनपत्र पेस गर्नुभएको थियो।
यस अघि राष्ट्रपति भण्डारीले बैतडीस्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजा गर्नुभएको थियो। त्रिपुरासुन्दरी भगवतीको दर्शनसँगै दशरथचन्द नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दनसमेत गरेको थियो। नगरपालिकाका तर्फबाट राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्