नेपालमा बोलिने मातृभाषा नेपालकै सम्पत्ति, महोत्सवमा मात्रै सीमित नहोस्



यदुप्रसाद भट्ट
विभिन्न महोत्सव गर्दै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानले गत हप्ता अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७६ को आयोजना ग¥यो। प्रज्ञाले गजल महोत्सव सकिएलगत्तै आफ्नो प्राज्ञिक कार्यक्रमलाई अगाडि बढाउने क्रममा मातृभाषा कविता महोत्सव गरेको हो। बंगलादेशको प्रस्तावमा युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
संयुक्त राष्ट्रसंघले समेत सन् २००० मा उक्त दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन आ≈वान गरेपछि विश्वभर २१ फेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालिएको हो। त्यसैको परिणामस्वरूप नेपालमा पनि सोही अवसर पारेर राष्ट्रिय मातृभाषा कविता महोत्सवको आयोजना गरिएको हो।
‘नेपालमा बोलिने सबै मातृभाषा नेपालको सम्पत्ति हुन्।’ –प्रमुख अतिथिका रूपमा उपस्थित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भन्नुभयो। उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो– ‘समानता र सद्भावलाई हामीले व्यवहारमा लागू गर्नुपर्दछ। राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यही कुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ।’
नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको धारणा थियो प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको। उहाँले देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभएको थियो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमा रहेको उल्लेख गर्नुभएको थियो भने भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेष ध्यान दिएको बताउँदै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा राख्नुभएको थियो।
नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रिय मातृभाषा दिवस बंगालाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बंगलादेशका सम्पूर्ण भाषिक शहीदको सहादतको उपलब्धि भएको बताउनुभयो। उहाँले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सिमाना नहुने भएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने विचार व्यक्त गर्नुभयो। युनेस्कोले यस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तय गरेको थियो।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानका निम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दै आएको बताउनुभयो। प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) प्रमुख एवम् कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३ भाषाका १ सय ५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताबाट ६४ ओटा कविता वाचनका लागि छनोट गरेको बताउनुभयो। प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागका प्रमुख प्राडा योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा युनेस्को काठमाडौैं कार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो।
आफ्नो बाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गर्नुभएको कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो। महोत्सवमा अतिथि कविका रूपमा भारतको असमबाट आउनुभएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाको कविता वाचन गर्नुभएको थियो।
समारोह शुरू हुनुअघि विभिन्न समुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेको थियो। झाँकी प्रज्ञा परिसर, घण्टाघर, बागबजार, पुतली सडक हुँदै पुनः प्रज्ञा भवन आई समारोहमा सामेल भएको थियो। उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीको आकर्षक प्रदर्शनी गरिएको थियो। झाँकी टोली र कविता वाचनमा सहभागी कविलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
उद्घाटन सत्रको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो भने कविता वाचन सत्रको सञ्चालन कविता महोत्सव तयारी उपसमितिका सहसंयोजक पदम राईले गर्नुभएको थियो।
यसैबीच नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेबु्रअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले भूमण्डलीकरणका कारण विश्वमा अहिले मातृभाषा जोखिममा परिरहेका भए तापनि नेपालले भने संविधानमै सुनिश्चित गरेर भाषा तथा मातृभाषाको संरक्षण र संवद्र्धनका लागि विशेष नीति लिएको बताउनुभयो। उहाँले भाषा मानिसको जन्मसिद्ध अधिकार भएकाले त्यसको संरक्षण र संवद्र्धन गर्न सरकार उदारतापूर्वक लागिरहेको सुनाउनुभयो। मन्त्री भट्टराईले भन्नुभयो– ‘भाषाहरूको संरक्षण एवं संवद्र्धनमा विश्वले नेपालबाट धेरै कुरा सिक्न सक्छ।’
संसार बहुभाषिक भएको धारणा राख्दै कुलपति उप्रेतीले भन्नुभयो– ‘विश्वमा केही भाषा प्रचलनमा रहेको भए पनि सभ्यता र सस्ंकृतिको आत्मा नै भाषा भएको हुँदा मातृभाषाको महत्व जहिल्यै रहन्छ।’
सोही अवसरमा भएको विचारगोष्ठीमा भाषा आयोगका अध्यक्ष प्राडा लवदेव अवस्थीले नेपालमा मातृभाषा शिक्षा नीति तथा कार्यान्वयनको अवस्था, डा. तारामणि राईले नेपालका आदिवासी जनजातिका मातृभाषाको वर्तमान अवस्था र अस्मिता मानन्धरले समाज रूपान्तरणमा मातृभाषा साहित्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमाथि क्रमशः प्राडा नोबलकिशोर राई, प्राडा दुविनन्द ढकाल र भोगीराज चाम्लिङले टिप्पणी गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्