‘तेजस्वी’ लाई बाबुआमा



मोतीराम तिमल्सिना,काभ्रे ।

सालनाल सहित माटोमा लटपट्टिएको शरिर निलो भईसकेको नवजात शिशुले एसओएस बालग्राम काभ्रेमा अभिभावकत्व प्राप्त गरेको छ । फागुन ४ गते आईतबार विहान सवा ५ बजे स्थानीयले नवजात शिशु देखे पछी प्रहरीले उद्धार गरेको थियो ।

‘शिशु फेला परेको जानकारी प्राप्त भए लगत्तै प्रहरीले उद्धार गरी उपचारका लागि बनेपा स्थित शिरमेमोरियल अस्पताल पठायो’–ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘११ दिनको उपचार पछि शिशुलाई बालग्राममा हस्तान्तरण गरिएको छ ।’

बालग्राम निर्देशक सुरेन्द्र अम्गाईले शिशुको न्वारन गरी अभिभावकत्व ग्रहण गर्नु भएको छ । उनको नाम तेजस्वी राखिएको छ । ‘पनौती नगरपालिका वडा नम्वर ४ टौखाल स्थित मिनबहादुर बस्नेतको घर नजिकै रहेको इनारको छेउमा नवजात शिशुको उद्धार भएको छ तर कसले जन्मायो र त्यो स्थानमा ल्याएर छाड्यो, अनुसन्धान भईरहेको छ’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो । बच्चा जन्माउने आमा फेला नपरेको उहाँले बताउनु भयो ।

‘बच्चाको उपचार हुँदा हुँदै प्रहरी सेल मार्फत एसओएस बालग्राममा बच्चाको जिम्मेवारीका लागि प्रस्ताव आयो र अभिभावकत्वका लागि प्रकृया शुरु भयो’–एसओएस बालग्राम निर्देशक सुरेन्द्र अम्गाईले भन्नुभयो–‘११ दिनको दिन फागुन १४ गते दिउसो बच्चा डिस्चार्ज भए लगत्तै हिन्दु परम्परा अनुसार शिशुको न्वारन गरि बालग्रामको त्रिशुली नामक घरमा राखिएको छ ।’

उक्त घरको जिम्मेवारी केहि महिना देखि निर्मला आचार्यले प्राप्त गर्नु भएको छ । ८ जना बच्चा रहेको उक्त घरकी आमा निर्मलाले शिशु तेजस्बीको स्याहार गर्नु हुनेछ । तेजस्वी जस्तै उक्त बालग्राममा अभिभावक नै पत्ता नलागेका तीन सन्तान छन् ।

एक जना अध्ययन गरेर क्यानाडामा पुग्नु भएको छ भने अर्काे एकजना सोहि विद्यालयको कक्षा ११ मा अध्ययन गरिरहनु भएको छ ।
अभिभावक गुमाएका १ सय ३० जना बालबालिकाहरुलाई एसओएस बालग्राम काभ्रेले १४ वटा आमा घर मार्फत अभिभावकत्व प्रदान गरी शिक्षा दिक्षा प्रदान गरिरहेको छ ।

एसओएस बालग्राममा अभिभावकत्व ग्रहण गरेका बालबालिकाहरुलाई १७ वर्ष भित्र एसईई दिन लगाउने, २३ वर्षसम्म थप शिक्षाका लागि युथ केयरमा लैजाने र त्यस लगत्तै समाजमा स्थापित गर्ने गरी विभिन्न क्षेत्रमा समावेश गरिदै आएको छ । बालग्राम मार्फत डाईरेक्ट केयरमा गएका ४४ जना बालबालिकाहरु युथ केयरमा छन् ।

तेजस्वीको उपचारमा ४० हजार खर्च भएको अस्पतालले जानकारी दिएको छ । नयाँ संहिता कानुन अनुसार शिशुलाई एसओएसल बालग्राममा हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो ।

एसओएस बालग्रामले आफ्नो जिम्मेवारीमा रहेका बालबालिकाहरुलाई अन्य अभिभावकको जिम्मा लगाउँदैन । तेजस्वीको अभिभावक बन्न खोज्ने थुप्रै ब्यक्ति र संघ संस्थालाई प्रशासनले शिशु उपलब्ध नगराएको प्रजिअ तिमल्सिनाले बताउनु भयो । पछिल्लो समय बच्चाको अभिभावकत्व ग्रहण गरी विभिन्न प्रयोजनमा लैजाने क्रम बढेकाले प्रशासनले शिशुलाई एसओएसमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्