मुख्य अभियुक्त प्रहरीको फन्दामा



गोकुल घोरसाइने, बारा ।
सर्वोच्च अदालतको नक्कली कागजपत्र तयार पारेर बारामा सयौं बिगाहा सार्वजनिक जग्गा दर्ता गर्ने काठमाडौंका प्रद्युम्नराज पाण्डे समूहका मुख्य हर्ताकर्ता भनिएका भक्तपुर कटुन्जेका सुरेश तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
अदालतको किर्ते पत्र बनाएर सार्वजनिक जग्गाको मठ स्रोस्ता व्यक्तिको नाममा कायम गरेको अभियोगमा तिमिल्सिनालाई इलाका प्रहरी कार्यालय सिमराले सोमबार नियन्त्रणमा लिएको हो। सोही अभियोगमा यसअघि प्रहरीले अदालतका पूर्वकर्मचारी हस्तबहादुर नेपाली, बाराको महागढीमाई नगरपालिका वडा नं ८ का वोहाव अन्सारी, कलैयाका प्र≈लादप्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका चन्द्रबहादुर सिंहलाई पक्राउ गरी कारबाही थालेको छ।
हाल अमेरिका बस्दै आएका पाण्डेको वारेस अधिकृतमार्फत् तिमिल्सिनाले जितपुर सिमरा उपहानगरपालिका वडा नम्बर २३ कित्ता नम्बर ६१ को करोडौं मूल्य पर्ने १ बिगाहा १० कट्ठा जमिन दर्ता गर्न मुख्य भूमिका खेलेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले सरकारी कागजपत्र किर्ते गरेर बहुमूल्य सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा सक्रिय पाइएकाले तिमल्सिनालाई पक्राउ गरिएको बताउनभुयो।
सर्वोच्च अदालतको ०७५ असोज १९ को फैसलाविपरीत तिमिल्सिनाले नायब सुब्बा नेपालीलाई समेत प्रभावमा पारेर अभिलेख शाखाको नक्कली लेटरप्याडमा निवेदकको मोठ तथा स्रेस्ता कायम गरिदिनु भन्ने व्यहोराको किर्ते पत्र तयार पारेका हुन्। यसअघि जिल्लामा गठन भएका सुकुम्बासी समस्या समाधान आयोगबाट पटकपटक जग्गाधनी पुर्जा पाएर पनि मालपोत कार्यालयमा मोठ र स्रेस्ता कायम नभएपछि पाण्डेले वारेसनामामार्फत विभिन्न कित्तामा रहेको २० बिगाहा जमिन दर्ता माग गर्दै हालेको मुद्दामा सर्वोच्चले प्रमाणका आधारमा पुनः निर्णय गर्नू भनी जिल्ला मालपोत कार्यालय बारामा पत्राचार गरेको थियो।
सोही आदेशका आधारमा मालपोत कार्यालय सिमराले सूचना निकालेर प्रमाणसहित उपस्थित हुन पाण्डेलाई निर्देशनसमेत दिएको अवस्थामा तिमिल्सिनाले कित्ता नम्बर ६१ को डेढ बिगागाको मात्रै मोठ तथा स्रेस्ता कायम गर्न भन्दै किर्ते बनाएर पत्र ल्याएपछि प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छानविन थालेको थियो। पथलैया–वीरगन्ज औद्योगिक करिडोरको त्रिभुवन राजपथसँग जोडिएको करोडौ मूल्य पर्ने सो जगामा हाल डाबर नेपाललगायतका उद्योग प्रतिष्ठन र पेट्रोल पम्पहरू सञ्चालनमा छन्।
यो समुहले फिल्डबुकमा ऐलानी, पर्ति खोला, बगर, गौचरन भनी उल्लेख भएका सिमराको विशेष आर्थिक क्षेत्र ‘सेज’ प्राधिकरण, अमलेखगन्ज–वीरगन्ज रेल्वे लिक र कार्यालय आसपास रहेको २ सय बिगाहाभन्दा बढी जमिनको यसअघि जिल्लामा पटकपटक गठन भएका सुकुम्बासी समस्या समाधान आयोगमार्फत् धनीपुर्जा बनाएको र मोठ तथा स्रेस्ता कायम गर्ने प्रयास गर्दै आएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। उहाँले पाण्डेको पनि खोजी भइरहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्