विपद्को पूर्वअभ्यास



ललितपुरको पाटन धपगाल बजारस्थित १६ नम्बर वडा कार्यालयमा आगलागी भइरहेको थियो। तीनतले भवनको तेस्रो तलामा दुई जना घाइते छट्पटिरहेका थिए। उनीहरू न त भर्याङबाट बाहिर आउन सक्ने अवस्थामा थिए न त हाम फालेर नै। त्यतिकैमा रेस्क्यु टोली आइपुग्छ। छुट्टै भर्याङ राखेर माथि चढ्छन्। घाइतेलाई डोरीमार्फत् तल झर्छन् अनि स्टेचरमा राखेर रेडक्रसबाट तालिम प्राप्त स्वयंसेविकाहरू प्राथमिक उपचारमा जुट्छन्। यो ललितपुर महानगरपालिका–१६ युवा तथा विपद् व्यवस्थापन समिति र सशस्त्र प्रहरी बल जुद्धबारुण यन्त्र काठमाडाैंको संयुक्त आयोजनामा सर्वसाधारणलाई आगलागी हुँदा उद्धार गर्ने तरिका सिकाउन देखाइएको दृश्य हो।
सिलिन्डरमा ग्याँस लिक भएर आगो बालिरहेको थियो। नजिकै छुट्टाछुट्टै स्थानमा भाडोमा राखिएको पेट्रोल र काठका सामग्री बलिरहेको थियो। प्रशिक्षणमा सहभागीमा आगो नियन्त्रणमा लिने बारेमा खुल्दुली भइरहेका बेला काठमाडौं जुद्धबारूण यन्त्रका फायर कमान्डर नरेशराज कुँवरले ब्याङकेटले सिलिन्डरमा बेरेर सजिलै आगो निभाए। उनले फायर इस्टिङगुइसर चलाउने विधि बारे पनि सर्वसाधारणलाई जानकारी गराए ।
शुरूमा इस्टिङगुइसरको टुप्पोमा हुने सेफ्टी पिन निकाल्ने, आगलागी भएको ठाउँमा ताक्ने अनि ह्याँन्डल थिचेर हान्ने। यो विधि प्रयोग गरेर प्रशिक्षणमा सहभागी दुई महिलाले सजिलै आगो नियन्त्रणमा लिए। ‘ग्याँस लिक भएर आगो बल्दा सिलिन्डर पड्किदैन,’ कुँवरले भन्नुभयो ‘तरिका जानेपछि सजिलै निभाउन सकिन्छ।’
उहाँले आगलागी हुँदा भागदौड गर्नाले बढी घाइते हुने गरेको सुनाउनुभयो। ‘नआत्तिकन काम लिनुपर्छ,’ उहाँले भन्नुभयो– ‘प्रत्येक घरमा एउटा फायर इस्टिङगजुइसर अनिवार्य राख्न जरुरी छ।’ प्रशिक्षणमा घरमा आगलागी हुने सम्भावित कारण, नियन्त्रणमा लिने र आगलागी हुन नदिन अपनाउनुपर्ने विधिबारे पनि जानकारी दिइएको थियो। टोलीका अनुसार सामान्य लापरबाहीको कारणले आगलागी हुने गर्छ। विद्युतीय उपकरण क्षमताको आधारमा प्रयोग नगर्ने, बेलाबेलामा परीक्षण, पुराना तार नफेर्ने, तार कार्पेट मुनिबाट लाने, किलामा अड्काउने, प्लास्टिकले बेर्ने र राम्रो टेप प्रयोग गर्ने जस्ता कारणले आगलागी हुने गरेको छ।
ग्याँस सिलिन्डरको हकमा सेफ्टि क्याप, रेगुलेटरको भल्ब क्वासकर र तौलको जाँच बिना प्रयोग गर्नाले दुर्घटना हुने गरेको छ। सिलिन्डर र स्टोभ बीचको दुरी ९ फिट टाढा, स्टोभभन्दा सिलिन्डर मुनि हुनुपर्ने, सिलिन्डर सुताएर प्रयोग गर्नाले पनि दुर्घटना हुने गरेको छ।
‘क्यापले रेगुलेटर भल्बबाट ग्याँस लिक हुनबाट रोक्छ। ‘क्वासर बिग्रेमा रेगुलेटर अन गर्ने बित्तिकै ग्याँस लिक भइ आगलागी हुने सम्भावना हुन्छ,’ १९ वडाका वडाअध्यक्ष विनोद ताम्रकारले भन्नुभयो ‘कम तौल भएमा सिलिन्डरको मोटाइ कम हुने अनि पड्कने सम्भावना रहन्छ।’
टोलीले खाना बनाउने क्रममा अन्यत्र जाने, कोठामा धुम्रपान, मैनबत्ती जथाभावी बाल्ने, पेट्रोल, डिजेलजस्ता अति प्रज्वलनशील पदार्थ बढी मात्रामा भण्डारण, विद्युतीय सामान प्रयोग गरेपछि प्लग अन नै छोड्ने कारणले पनि आगलागी हुने गर्छ।
ललितपुर महानगर–१६ वडाध्यक्ष निर्मलरत्न शाक्यले आगलागी बारेमा गृहिणीहरूलाई जानकारी दिन छुट्टै तालिमको आयोजना गर्ने योजनामा रहेको बताउनुभयो। ‘नगरमा हुन सक्ने विपत्लाई ध्यानमा राखेर सोहीअनुरूपका उद्धारका सामग्री तयारी अवस्थामा राखिनेछ,’ –उहाँले भन्नुभयो।
रेस्क्यू टोलीमा जुद्धबारुण यन्त्रका फायर फाइटिङसहित ७ जना, महानगर– १६ का २१ जना स्वयंसेवक खटिएका छन्। प्रशिक्षणमा विपद् सम्बन्धि काम गर्ने संस्था एफएससीएनका प्रतिनिधि पनि उपस्थित थिए। सो संस्थासंग सहकार्य गरी वडा नं १९ ले पनि आगलागी तथा कृत्रिम दुर्घटनासम्बन्धी अभ्यास गराइएको थियो। यसले विपद्सँग जुध्ने आत्मविश्वास बढाउने १९ वडाका अध्यक्ष ताम्रकारले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्