कागती खेतीमा रमाउँदै झापाका निरौला परिवार



उत्तम नेपाल,भद्रपुर ।

झापाको कमल गाउँपालिका ६ मा रहेर छिमेकी गौरादह नगरपालिकामा १ मा विगत ५ वर्ष यता ३ विगाह जमिनमा अग्र्यानिक कागती खेती गर्दै आएका तीन भाइको मेहनेत यतिबेला झापाको नमुना बनेको छ । इच्छाशक्ति भएमा जुन सुकै काममा पनि सफलता हासिल गर्न सकिने निरौला परिवारले गरेको कृषि व्यवसाय यसको ज्वलन्त उदाहरण वनेको हो ।

छुट्टाछुट्टै परिवार भएपनि संयुक्त रुपमा खुमनाथ, रमेश र वेदनिधी लगायत श्रीमतीसहित सम्पूर्ण परिवार एक ढिक्का भएर अहिले कागती खेतीमा जुटेका छन् । खुमनाथ शिक्षण पेशामा संलग्न छन् भने रमेश मिल व्यवसायी र वेदनिधी राष्ट्रसेवक कर्मचारी हुन् । सवैको पेशालाइ ध्यानमा राखेर भाडाको जमिनमा २५ लाखको लगानीमा कागती खेती लगाउन कम्मर कसेको उहाँहरुको भनाइ छ ।

जमिन प्रयोग गरेबापत बार्षिक ८० हजार रुपैयाँ खर्च गर्दै आइरहेको खुमनाथले बताउँनुभयो । चितवनबाट सुनकागती र कलकत्ता मद्रासीबाट एनसी आरपी जातका प्रति विरुवा १ सय ५० का दरले खरिद गरी १५ सय विरुवा लगाएका छन् । पाँचवर्ष अघि तत्कालिन कृषि विकास कार्यालयबाट थोपा सिँचाइले करिब एक लाख मूल्य बराबरको सामग्री अनुदान दिएको थियो ।

रसायनिक मललाइ विस्थापित गर्ने उद्देश्यले शुरु देखी हालसम्म गोबरमल मात्र प्रयोग गर्दै आइरहेको रमेश बताउँनुहुन्छ । खेती गर्न मन लागेपनि स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको प्रेरणा नपाएको उहाँहरुको गुनासो छ । प्राविधिकले हौसला दिनुको सट्टा उल्टै तराइमा कहाँ कागती फल्छ ?भन्दै मनोबल गिराउने तर्फ लागेको प्रति उहाँले आपत्ती जनाउँनुभयो ।

विचौलिया र भारतिय कागती नेपाल भित्रिएका कारण कागतीले उचित मूल्य नपाएको निरौला परिवारको भनाइ छ । प्रति दाना अढाइ देखी ३ रुपैयाँ व्यापारीले लगाउने गरेको चेतना निरौलाले बताउँनुभयो । वेमौशमी २५ प्रतिशत भएपनि साउन देखी कात्तिक सम्म यसको फल्ने महिना रहेकोले सो समयमा १५ देखी २० बोरा कागती उत्पादन हुने उहाँहरुको भनाइ छ । पारिवारिक सल्लाह पश्चात् पाथिभरा एग्रो टेक प्राली परियोजना गौरादह १ मा शुरु गरिएको निरौलाले बताउँनुभयो । हाल वार्षिक अढाइलाख रुपैया खर्च हुदै आइरहेको उहाँले जानकारी दिनुभयो । नेपालमा नै रहेर गर्ने सके जे पनि हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्