राजनीतिक तुलो र प्रधानमन्त्रीको जन्मदिन



बालकृष्ण मैनाली
लेखको शीर्षकलाई हेर्दा पक्कै पनि केही जनले दायाँ–बायाँ केही नहेरी यो आलेख लेख्ने मान्छे पक्कै पनि कम्युनिस्ट विरोधीसँगै प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोधी हुनुपर्दछ भन्ने आँकलन गर्नेछन् भन्ने कुरामा यो आलेखकर्ता शतप्रतिशत विश्वास गर्दछ। प्रजातन्त्र र लोकतन्त्रको धर्मअनुसार जति छुट सबै आलेखकर्ताले भन्न र लेख्न पाएका छन् त्यस्तै छुट प्रत्येक इच्छुक जनले पाउनु नै पर्दछ भन्ने मान्यतालाई आत्मसात् गर्नै पर्दछ।
राजनीतिक तुलोमा खरो उत्रिन सफल आफ्ना विश्वासपात्रप्रति गम्भीर आरोप लागेर पदीय राजीनामा स्वीकृत गरिसक्दा पनि यस विषयमा कुनै संलग्नता थियो वा थिएन भन्ने सम्बन्धमा आधिकारिक धारणा नआउनु अनि आफ्नै दलभित्र पनि विषय उठानमा निषेध गरिनु भनेको नेकपा दिनानुदिन जनताको नजरमा ओरालो लाग्दै जाने मार्गमा थप बल पु¥याउनु हो भन्नेमा रत्तिभर शंका छैन।
केही दिनअगाडि धुलिखेलमा भएको एउटा कार्यक्रममा प्रधानमन्त्रीले काभ्रे जिल्लालाई प्रतिभा जन्माउने ठाउँको संज्ञा दिएका थिए। हुन त यो कुरा हालै बहिर्गमनमा पर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई इंगित गर्दै भनेका थिए उनले। त्यति हुँदाहुँदै पनि त्यो भनाइले काभ्रेली जनमा एउटा सकारात्मक कार्यमा होमिनको लागि आत्मविश्वासको जगमा थप इँटाको काम भएको महसुस गर्ने केही जनहरू परेका थिए। यस अर्थमा पनि काभ्रेलीहरू वर्तमान अवस्थामा जहाँ रहेको वा बसेको भए तापनि प्रधानमन्त्रीको उक्त भनाइमध्ये राजनीतिक तुलो भन्ने वाक्यलाई हटाइदिँदा बाँकी भनाइले चाहिँ कम्तीमा काभ्रेका जनजनलाई गौरवान्वित अनुभूति गराएको थियो।
आजभोलि चर्चाको शिखरमा पुगेको दुईवटा समाचारमध्ये पहिलो राजनीतिक तुलोमा तौलँदाको अवस्थामा विशिष्ट मूल्यांकन प्राप्त गर्न सफल व्यक्तिको आकस्मिक पदीय राजीनामा प्रकरण र दोस्रो प्रधानमन्त्रीले आफ्नो गृह जिल्लामा पुगेर मनाएको जन्मदिनका अवसरमा काटेको नेपालको नक्साअंकित केक।
सूचना प्रविधि तथा सञ्चारमन्त्रीले सेक्युरिटी पे्रस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय प्रतिनिधि विजयप्रकाश मिश्रसँग मोलमोलाइसहित घुस मागेको अडियो प्रकरण सार्वजनिक भएपछि देशमा छुट्टै खालको तरंग पैदा भएको छ।
एकातिर आपूmलाई अनुचित फाइदा लिने कार्यमा संलग्न भएको प्रकरण सार्वजनिक भएपश्चात् राजीनामा बुझाएर पदबाट बहिर्गमन भएर बसेका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई कानुनी कारबाहीको दायरामा नल्याइएको वा ल्याउन ढिला गरेको सम्बन्धमा जनजनमा तीव्र असन्तोष व्याप्त हुँदै छ भने अर्कोतिर अख्तियार वा सीबीआईलगायत अन्य सरोकारवालाले कार्यवाही गर्ने भएको हुँदा नेकपाको बैठकले स्वयं नेकपारूपी दलले उनीमाथि कार्यवाही गर्नुपरेन भन्दै बिट मारेको समाचारले जनजन थप आश्चर्यचकित र आक्रोशित भएका छन्।
यस विषयमा नेकपाको र स्वयं प्रधानमन्त्रीको दोहोरो भूमिकाले जनजन अन्योलग्रस्त बन्न पुगेका छन्। यदि गोकुल बाँस्कोटा निर्दोष हुन् अथवा सार्वजनिक भएको अडियो प्रकरण झुट्टा हो भने कम्तीमा वाइड बडीको सवालमा हेलिकोप्टर दुर्घटनामा दिवंगत हुनुभएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बारेमा भविष्यमा हुने अनुसन्धानले जे–जस्तो नतिजा ल्याउने भए तापनि तत्कालीन अवस्थामा जसरी.रवीन्द्र अधिकारी निर्दोष छन् भनेर प्रधानमन्त्रीले सार्वजनिकरूपमै बोलेका थिए गोकुल बास्कोटाको मामिलामा दोषी हुन् कि होइनन् भनेर किन नबोलेको भन्ने जनजनको कथन तथ्यगत नै छ।
यति मात्र होइन, बाँस्कोटा प्रकरणमा सम्बन्धित आफ्नै दल नेकपाले छानबिन नगर्ने र दलभित्र त्यो विषयको कुरा उठान नै गर्न नपाइने गरी प्रतिबन्ध लगाउनु प्रधानमन्त्रीले स्वयं प्रजातन्त्र र लोकतन्त्रको उपहास गरेको रूपमा जनजनले बुझ्न थालेका छन्। राजनीतिक तुलोमा खरो उत्रिन सफल आफ्ना विश्वासपात्रप्रति गम्भीर आरोप लागेर पदीय राजीनामा स्वीकृत गरिसक्दा पनि यस विषयमा कुनै संलग्नता थियो वा थिएन भन्ने सम्बन्धमा आधिकारिक धारणा नआउनु अनि आफ्नै दलभित्र पनि विषय उठानमा निषेध गरिनु भनेको नेकपा दिनानुदिन जनताको नजरमा ओरालो लाग्दै जाने मार्गमा थप बल पु¥याउनु हो भन्नेमा रत्तिभर शंका छैन।
प्रधानमन्त्रीको भ्रष्टाचारसम्बन्धी पछिल्लो कथन लुट्न कसैलाई पनि छुट छैन भन्ने आशय बाँस्कोटाप्रति नै लक्षित हो भने यो आलेख तयार पार्दासम्म स्वयं प्रधानमन्त्रीकै घर उहाँलाई उपलब्ध गराइराख्नु अनि स्वयं अख्तियारले उनलाई आफ्नो कब्जामा नलिनु र मन्त्रालयमा छापा मारेको भनेर मात्र समाचार सार्वजनिक हुनुलाई स्वयं प्रधानमन्त्रीप्रति विगतमा बनेको जनजनको सकारात्मक छविमा विश्वासको खाडल झन् गहिरो खन्ने कार्यमा स्वयं प्रधानमन्त्री लाग्दै गएको अनुभूति हुन थालेको छ।
भ्रष्टाचारको विरोध गर्ने क्रममा सामाजिक सञ्जालमा आएको टिप्पणीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मानहानि हुने गरेर सामाजिक सञ्जालमा किन पोस्ट गरेको भनी आफ्नै दलका प्रदेश २ का पार्टी अध्यक्ष प्रभु साहसँग तपाईंलाई पार्टीले किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोध्ने गोकुल बाँस्कोटाको विषयमा भ्रष्टाचारको आरोप लागेपछि पार्टीले तपाईंलाई किन कारबाही नगर्ने ? भन्ने दुई हरफको स्पष्टीकरण सोध्न कन्जुस्याइँ गर्छ भने कसरी नेकपा भविष्यमा उँभो लाग्छ भन्ने जनजनमार्पmत उठान भएको विषय पनि त्यत्तिकै सान्दर्भिक छ।
यो आलेख तयार पार्दासम्मको पछिल्लो सामाजिक सञ्जाललगायत छापा सञ्चारमा सार्वजनिक भएको समाचारअनुसार सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा अख्तियारले छापा मारेको नभई फरक व्यक्तिले अख्तियारको नाउँमा छापा मारेर कागजातहरू विशेष गरी बाँस्कोटाका डायरीहरू लिएर गएको भन्ने समाचार सार्वजनिक हुन पुगेको छ। अख्तियार स्वयंले पनि हामीले सञ्चार मन्त्रालयमा छापा मारेका छैनौ भन्ने भनाइ सार्वजनिक गरेको छ। यदि यो सत्य हो भने मन्त्रालयमा गएर डायरीलगायत अन्य कागजपत्रहरू कब्जामा लिने को हो ? तिनीहरूले मन्त्रालयमा मन्त्रीको कोठामा कसरी प्रवेश पाए ? यो विषयमा पनि कडा छानबिन गरी दोषी पत्ता लगाएर कानुनी कठघरामा उभ्याउन कुनै हालतमा ढिलो गरिनुहुन्न।
दोस्रो समाचारचाहिँ देशको प्रधानमन्त्रीले गृह जिल्लामा आफ्नो जन्मदिन मनाएको सवाललाई लिएर भएका सार्वजनिक टीकाटिप्पणीका बारेमा छन्। सत्यचाहिँ के हो भने, कसैले पनि आफ्नो जन्मदिन जहाँ गएर पनि मनाउन पाउँछ। उसमाथि देशको विशिष्ट व्यक्तिको जन्मदिन भनेको स्वभावैले पनि कौतुहलको विषय हो। देशको प्रधानमन्त्रीको जन्मदिनमा नागरिक एवं जनसमुदायले उहाँको सुस्वास्थ्य र सफलताको कामनामा सरिक पनि हुन पाउनुपर्दछ भन्ने कुरामा कतै विमति छैन। जनजनले उहाँको स्वास्थ्य लाभको कामना दिनदिनै गरिरहेका छन्। कार्यकारी प्रमुखले केक काटेरै आफ्नो जन्मदिन मनाउन नपाइने भन्ने छैन।
तथापि आफ्नो जन्मदिन मनाउने सवालमा साँंकेतिकरूपमै भए पनि कतै केही त्रुटि हुन गएको छ कि भन्ने कुरालाई हेक्का राख्नु मनासिव मानिन्छ। यसपालिको जन्मदिनमा प्रधानमन्त्री स्वयं र उनका सल्लाहकारहरूले यस्तो गम्भीर विषयमा चासो राखेको अनुभूति हुन सकेन र सामाजिक सञ्जाललगायत छापा सञ्चारमा प्रधानमन्त्रीको जन्मदिनसम्बन्धी समाचारमा नकारात्मक आलोचनाले प्रश्रय पाउन पुग्यो।
प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाएका समाचारहरूका साथै जन्मदिन मनाउँदा प्रयोग गरिएका सामग्रीहरूका तस्वीर पनि सार्वजनिक भएका छन्। थरी–थरी रंगका हेलिकोप्टरहरू, गाडीका झुन्ड र ट्याक्टरमा खचाखचरूपमा भरिएका बालबालिकाका तस्वीर पनि सार्वजनिक भएका छन्। प्रधानमन्त्रीको जन्मदिनको अवसरमा प्रयोग भएका आकाशमार्गे र सडकमार्गे सवारीसाधनलाई अन्यथा नलिए पनि एउटा छुट्टै प्रकाशित तस्वीरबारे भने जनजनको ध्यान गम्भीररूपमा आकर्षित हुन पुगेको छ। नेपाली नक्सा आकारको केकलाई काटेर प्रधानमन्त्रीले आफ्नै हातमा उठाएको तस्वीरहरू छापामा छापिएका छन्। नेपालको नक्साको रूप दिएर केक निर्माण गर्नु र प्रधानमन्त्रीले नेपालको नक्सा स्वयंले काटेर आफ्नो जन्मदिन मनाएको अर्थमा जनजनले लिएका छन्।
त्यस किसिमको कार्यलाई प्रधानमन्त्रीको गैरजिम्मेवारी कार्यको संज्ञा दिएका छन्। उक्त कार्यको बचाउमा अन्तर्राष्ट्रिय मान्यताअनुरूप प्रधानमन्त्रीले जन्मदिन मनाउँदा रोइलो किन भन्नेसमेतको सल्लाहकारको टिप्पणी सामाजिक सञ्जालमा सार्वजनिक भएको देखियो। सल्लाहकारहरूले बुझ्नुपर्ने तथ्य के हो भने, कुनै पनि कार्यपालिकाका प्रमुखले आफ्नो जन्मदिन मात्र होइन उहाँका नामबाट हुने र गराइने प्रत्येक कार्यका बारेमा गम्भीर भएर सोच्नै पर्छ। त्यति मात्र होइन, कार्य भएपश्चात् त्यसबाट निस्कने सम्भावित सकारात्मक वा नकारात्मक टीकाटिप्पणीका बारेमा पनि सजग हुनु अनिवार्य हुन्छ।
प्रधानमन्त्रीको यसपालिको जन्मदिन मनाउने सवालमा यो कुराको कमी पक्कै रह्यो। सीमा विवाद चरम अवस्थामा पुगिरहेको बेला आफ्नो जन्मदिनमा नेपालको नक्साको केक बनाएर अनि नेपालको नक्सालाई आपैmंले काटेर जन्मदिन मनाइएको परिदृश्य इमानदारीपूर्वक भन्ने हो भने जनमतले पचाउन सकेकै छैनन्। प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउने सवालमा जे गरे ठीक गरे भनेर यसको पक्षमा जतिसुकै बहस र डंका पिटे पनि त्यो बहसलाई मान्न जनमत तयार छँदै छैन।
देशका प्रधानमन्त्रीले बेला–बेलामा अपनाएको विभिन्न कार्यमा भनाइ र गराइमा आकाश–जमिनको फरक भएको छ। राज्यले अपनाएका आजसम्मको क्रियाकलापलाई हेर्दा भ्रष्टाचारको नियन्त्रण त परै जाओस्, न्यूनीकरणको सवालमा पनि यो दुई वर्षको अवधिमा सोचेजति सफलता प्राप्त हुन सकेन भन्ने कुरा जनजनलाई लाग्न थालेको छ। अभैm पनि जनजनबाट शंकाको सुविधा प्रधानमन्त्रीले पाएका छन्। जीवनलाई नजिकबाट बुझिसकेका प्रधानमन्त्री रकम कुम्ल्याउनकै निमित्त भ्रष्टाचारजन्य कार्यमा संलग्न हुन्छन् भन्ने कुरा जनजनले अभैm पत्यार गरिसकेका छैनन्। यस अर्थमा मिल्छ भने जनता र नागरिकको हितमा कडा तथा कठोर कदम चाल्न सक्नुपर्छ। त्यो भनेको केही वर्षका लागि स्वतन्त्र नागरिक सरकारको स्थापनामा सहयोग पु¥याउनु हो।
पक्कै पनि स्वतन्त्र नागरिक सरकारको स्थापना हुन सक्यो भने भ्रष्टाचारलाई मलजल गरी बलियो बनाइराख्न भूमिका खेल्ने केही पात्रहरू बहिर्गमनमा पर्नेछन् तिनीहरूका स्थानमा नवोदित क्षमता भएका पात्रहरूको प्रवेश हुनेछ, जसले केही वर्षको अन्तरालमा देशको मुहारलाई चम्किलो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्। देशको प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो प्रधानमन्त्रित्व कालमा त्यति भूमिका खेल्न सक्नुभयो भने इतिहासमा उहाँको नाम अविस्मरणीय रहनेछ। बाँकी उहाँकै तजबिज।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्