सुनको मूल्य घट्यो, डलरको बढ्यो



काठमाडौं, (नेस)
नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा अमेरिकी डलरको विनिमय दर भने बढ्न पुगेको छ। यस दिन नेपाली बजारमा छापावाल सुन ८० हजार रुपियाँमा खरिद बिक्री भएको छ।
प्रतिडलरको विनिमय दर भने १ सय १५ रुपियाँ ४९ पैसा कायम भएको छ। करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ रुपियाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८० हजार ३ सय रुपियाँमा कारोबार भएको सुन मंगलबार ३ सय रुपियाँले घट्दै प्रतितोला ८० हजार रुपियाँमा कारोबार भएको छ।
यस्तै मंगलबार तेजावी सुन प्रतितोला ७९ हजार ७ सय रुपियाँमा कारोबार भएको छ। सोमबार यस्तो सुन प्रतितोला ८० हजार रुपियाँमा कारोबार भएको थियो। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि भएको छ।
सोमबारको तुलनामा चाँदी प्रतितोला ५ रुपियाँले बढेको महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ९ सय २५ रुपियाँमा कारोबार भएको छ। यद्यपि, सोमबार चाँदी प्रतितोला ९ सय २० रुपियाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्