प्रदेश सरकारको प्रतिबद्धतापछि सप्तकोशीमा जेट बोट सुचारु



सरोज यादव,विराटनगर।

सुनसरीको चतरास्थित सप्तकोशी नदीमा बन्द गरिएका जेटबोटहरु पुन संचालनमा आएका छन् । संचालनसम्बन्धि कानुनको अभाव र असुरक्षा बढेको भन्दै ब्यवसायीले केहि समयकालागि सेवा अवरुद्ध गरेका थिए । सुनसरीको चतराबाट सप्तकोशी नदीमा संचालनहुंदै आएको मोटरबोट तथा जेट बोटहरुले सेवालाई पुन निरन्तरता दिएका छन् ।

ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले गएको २९ माघबाट सेवा अवरुद्ध गर्दै आन्दोलनमा उत्रिएका थिए ।

ब्यवसायीहरुले उठाएका केहि मागहरुलाई प्रदेश सरकारले सम्बोधन गरिसकेको र बांकी मागहरु पुरा गर्ने आश्वासन पाएपछि ब्यवसायीहरुले सेवालाई निरन्तरता दिएका हुन् । हाल सुनसरीको चतराबाट बराहक्षेत्रहुँदै भोजपुरको सिमाना हतुवागढी सम्म जेट बोटहरु संचालन हुँदै आएका छन् ।

जेटबोटहरु संचालन भएयता भोजपुर लगायतका क्षेत्रका सर्वसाधारणको आउजाउ र मालसामान ओसार्न सहज भएको स्थानिय सन्तोष राईले बताउनुभयो । सप्तकोशीमा बोट संचालन हुनुअघि आफुहरु चतराबाट नुन बोकर कयौं घन्टा भीडको बाटो हिडेको उहाँले स्मरण गर्नुभयो ।

२१ किलोमिटरको दुरीको सप्तकोशीको जलक्षेत्रमा संचालनमा रहेका ७ वटा पानी जहाजहरु मध्ये ३ वटा विग्रिएका कारण हाल ४ वटा जहाज संचालनमा रहेको सप्तकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका संचालक राजेन्द्र कार्कीले बताउनुभयो । उहाँले विग्रिएका जेटबोहरुको मर्मत सम्भार भइरहेको बताउनुहुँदै ७० सिटे जेटबोट समेत समेत छ्टिटै संचालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

जेट बोटहरुबाट दैनिक ३ सय यात्रु र २ सय पर्यटकलाई सेवा दिने गरिएको उहाँले बताउनुभयो । चतराबाट शुरु हुने जलयात्रा मार्गमा बराहक्षेत्रको दर्शन गर्न पाउनुका साथै कोकाकौशिकीको संगमस्थल,निर्माणाधिन कोलुङ झर्नाको पहुँच मार्ग,त्रिवेणी र माइबेनी लगायतका पवित्र तिर्थस्थलहरुको समेत अवलोकन गर्ने अवसर प्राप्त हुन्छ ।

यसका साथै दुर्गम जिल्लाका सर्वसाधारणको सहजरुपमा सुगम जिल्लाका साथै प्रदेश एकको राजधानी लगायतका क्षेत्रसम्म समेत पहुँच हुन्छ ।

प्रतिक्रिया दिनुहोस्