अध्यक्ष रिजालको संयोजकत्वमा गठित समितिले मेयर शाक्यलाई बुझायो प्रतिवेदन



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरमा प्रयोग भइरहेका सवारी साधन व्यवस्थापन, सुबिधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकता अध्ययन गर्न गठन भएको समितिले प्रमुख बिद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ ।

यसका लागि मंसिर १७ गते बसेको महानगरको ३९ औं कार्यपालिका बैठकले वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो । महानगरका प्रयोग भइरहेका तथा आवश्यक पर्ने सवारी साधनको व्यवस्थापन र खरिद गर्नुपर्ने भए शिफारिस गर्ने शर्तका आधारमा समितिले काम गरेको थियो । समितिको सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ, कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ हुनुहुन्थ्यो । महानगरको यन्त्र तथा उपकरण महाशाखाका प्रमुख पुरुषोत्तम शाक्य समितिको सदस्य सचिव हुनुहुन्थ्यो ।

प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले प्रतिवेदनको विषयम कार्यपालिका बैठकमा छलफलका लागि प्रस्तुत गरिने बताउनुभयो । सुबिधा नलिनु पर्नेले सुबिधा पाएको र सुबिधा पाउनु पर्नेले नपाएको हुन सक्छ । सवारी साधनको प्रयोगले कार्यालयलार्य कति फाइदा पुग्यो । यो बिस्तृत रुपमा हेरिनुपर्छ । उहाले सवारी चलाउने चालकको सट्टा आफैं सवारी चलाउने कुरालाई प्रोत्साहन गर्नुपर्छ । कार्यालयको कामलाई सहज बनाउन मितव्ययी सवारी सञ्चालन गर्ने दिशामा सबैको ध्यान जानुपर्छ, मेयर शाक्यको भनाइ थियो ।

त्यस अवसरमा बोल्दै समितिका संयोजक एवं वडा १६ का अध्यक्ष रिजालले वडा कार्यालयलाई ५ जनाभन्दा बढी व्यक्ति अट्न सक्ने वातावरणमैत्री सवारी खरिद गर्न शिफारिस गरिएको जानकारी दिनुभयो । महानगरका बिभागीय प्रमुख एउटा बिभागबाट सरुवा भइ अर्को बिभागमा जाँदा सवारी पनि सँगै लिएर जाने गरेको देखियो । यसलाई व्यवस्थापन गर्न सवारी साधनका बिभागको नाम लेख्ने, बिभागीय प्रमुखले पाउँदै आएको १०० लिटर इन्धन सुबिधालाई घटाएर ८० लिटर बनाउनेलगायत शिफारिस छन्, रिजालले जानकारी दिनुभयो । बिभागीय प्रमुखको कार्यभार र उहाँहरुले गर्नु पर्ने यात्रा बिश्लेषण गरेर यसप्रकारको शिफारिस गरिएको उहाँको भनाइ थियो ।

समितिले यसअघि चारपाङ्ग्रे सवारीका लागि दिइँदै आएको ८० लिटर इन्धन सुबिधालाई ६० लिटर बनाउने, अधिकृत स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि १० लिटर इन्धन दिँइदै आएकोमा १५ लिटर बनाउने, सहायक स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि ७ लिटर इन्धन दिनेलगायत बुँदा छन् । छैटौं र सातौं तहका कर्मचारीलाई मोटरसाइकल सुबिधा दिने पनि समितिले शिफारिस गरेको छ । प्रतिवेदनमा महानगरमा भएका सवारी क-कसले प्रयोग गरिरहेका छन् भन्ने विवरण पनि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्