मेयरसँग उत्कृष्ट प्रश्न सोध्ने विद्यार्थी पुरस्कृत, ‘विद्यालयको फोहोर कसरी व्यवस्थान गर्न सकिन्छ ?’



मोतीराम तिमल्सिना, काभ्रे ।

श्रीखण्डपुर माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने छात्रा आकृति अधिकारी पुरस्कृत हुनु भएको छ । धुलिखेल नगरपालिकाले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा उत्कृष्ट प्रश्न सोध्ने विद्यार्थी आकृति अधिकारीलाई नगर प्रमुख अशोक ब्याञ्जुले १ हजार रुपैया प्रदान गरी पुरस्कृत गर्नु भएको थियो ।

‘विद्यालयमा निस्कने ठोस र अन्य फोहोरमैला व्यवस्थापन गर्न कठिनाइ भै रहेको छ ? यसको उचित व्यवस्थापनका लागि नगरपालिकाको कस्तो योजना छ ? कसरी हाम्रो विद्यालयको फोहोर मैला व्यवस्थापन गर्न सकिन्छ नगरपालिकाले के सहयोग गर्छ ?’–विद्यार्थी आकृति अधिकारीले भन्नुभयो ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि गरिरहेका अभ्यास र प्रयासका बारेमा बताउँदै दीर्घकालिन योजनाका बारेमा बताउनु भएको थियो ।

नगरपालिकाले नीजि क्षेत्रको सहकार्यमा दैनिक फोहोर सकंलन गरी कुहिने र नकुहिने फोहोरको अलग अलग ब्यवस्थापन गरिरहेको छ । फोहोरबाटै ग्याँस उत्पादन गरी नेपालकै नमुना नगरपालिकाको रुपमा धुलिखेलले कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

विद्यालय तथा अन्य क्षेत्रबाट उत्पादन हुने फोहोरलाई मोहोरका रुपमा परिणत गर्न दीर्घकालीन योजनाको गुरुयोजना तयार गरी कार्य प्रारम्भ गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

धुलिखेलको पुर्णसञ्जिवनी र श्रीखण्डपुर मावीमा मेयरसँग विद्यार्थी कार्यक्रम संचालन गरिएको थियो । यस अघि धुलिखेलमा रहेको सञ्जिवनी, देविटारको देविस्थान र रविओपीको सेतिदेवी मावीमा मेयरसँग विद्यार्थी कार्यक्रम संचालन गरिएको थियो ।

विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय ब्यवस्थापन समिति र जनप्रतिनिधि तथा कर्मचारी सबैको सुझावका आधारमा शिक्षाको गुणस्तर सुधार गर्ने उदेश्यले सबै क्षेत्रको सुझाव लिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

विद्यार्थीहरुले उठाएका जिज्ञासा तथा समस्या समाधानका लागि नगरपालिकाले कार्य गरिरहेको बताउनु भयो । केहि प्रश्नहरुलाई आगामी शैक्षिक सत्रबाट पुरा गरिने उहाँले बताउनु भयो ।

पुर्णसञ्विजनी मावी धुलिखेलमा अध्ययरनत दिपक श्रेष्ठले शैक्षिक गुणस्तर बृद्धीका लागि नगरका योजनाका बारेमा जिज्ञासा राख्नु भएको थियो । नगर प्रमुख ब्याञ्जुले शिशु कक्षा देखि नै विद्यालयको गुणस्तर सुधार गर्न एमजिएमएल कार्यक्रम शुरु गरी अतिरिक्त सहयोग गरिरहेको बताउनु भएको थियो ।

विद्यार्थी गंगा अधिकारीले नियमित रुपमा प्याड वितरण गरेपछि त्यसलाई डिस्पोज गर्ने स्थानको अभाव रहेको बताउनु भयो । अञ्जना थापाले कक्षाकोठा चिसा र अँध्यारा रहेको बताउनु भयो । बत्ति नहुँदा अध्ययनमा परेका समस्या उहाँले बताउनु भयो । मल्लिका लिम्बुले छात्रामैत्री शौचालय नभएको र भएको पनि सानो हुँदा समस्या भएको बताउनु भयो ।

सविना तामाङले दुब्र्यसनी र अनाथ बालबालिकाका लागि नगरपालिकाले योजना बनाउनु पर्ने बताउनु भयो । जोगमाला थिङ्गले यातायातका लागि स्कुल बसको आवश्यकता रहेको बताउनु भयो । महेश श्रेष्ठले विपद ब्यवस्थापन, स्वस्तिका पराजुलीले एसईई परीक्षा तयारीका लागि निशुल्क अतिरिक्त कक्षाको ब्यवस्था गरिदिनु अनुरोध गर्नु भएको थियो । यञ्जु शेर्पाले खाजाको ब्यवस्था स्कुल भित्रै गरिदिन अनुरोध गरिदिनु भयो ।

गरिव र न्युन आए भएकाले शैक्षिक सुधारका लागि विद्यालय मार्फत खाजा ब्यवस्था भए भोको पेटमा लिएको भन्दा भरिएको पेटमा लिएको शिक्षा पूर्ण हुने बताउनु भयो । विद्यार्थी कृष्ण तामाङले पढाईका साथै मनोरञ्जन आवश्यक रहेको बताउनु भयो । सुमन पराजुलीले खुल्ला ढल सडकमा हुँदा त्यसको वातावरणले प्रभावित बनाएको बताउनुभ भयो ।

विद्यार्थी रजनी खत्रीले बालश्रमीक हटाउन नगरपालिकाको योजना माग गरेका थिए । श्रीखण्डपुर माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि समसामयिक विषयमा नगर प्रमुख अशोक ब्याञ्जुसँग जिज्ञासा राखेका थिए । विद्यार्थी मनिषा कार्कीले डिजिटल शिक्षकको ब्यवस्था गरिदिन अनुरोध गर्नु भयो । राधिका फुँयालले दिवा खाजाको ब्यवस्थापन गर्न माग गर्नु भयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव शर्मा, भोजकुमार ठकुरी, वडा अध्यक्ष विष्णु धिताल, विद्यालयका प्रधानाध्यापकहरु, वडा सदस्यहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्