राजस्व छली प्रकरण: अनियमितता छानबिन समिति विघटन



मोतीराम तिमल्सिना, काभ्रे ।

राजश्व संकलनमा भएको अनियमितता छानविन गर्न गठित समिति विघटन भएको छ। नमोबुद्ध नगरपालिकामा १५ दिन म्याद पाएको समितिले प्रारम्भिक छानबिन गरेको थियो।

अनियमितताको आरोप लागेका कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाए पनि करारका कर्मचारी भएकाले निलम्वन नगरिएको बताइएको छ।
‘अख्तियार आफैंले छानविनका लागि विल प्याडहरू लगेको छ, नगरपालिकाको छानविन समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ’, नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा तिमल्सिनाले भन्नुभयो– ‘छानविन समितिको प्रारम्भिक प्रतिवेदनसमेत अध्ययन गर्न भ्याएको छैन। अरु काम अख्तियारले गर्नेछ।’

छानबिन समितिमा रहेका सदस्यहरू नै राजस्व छलीमा संलग्न भएको समाचार प्रकाशन भएपछि कार्यपालिका बैठकले अन्य तीन जना थप गरेको थियो। मंगलबार बसेको कार्यपालिका बैठकमा नमोबुद्ध नगरपालिका प्रमुख टीपी शर्मा तिमल्सिनाले छानबिन समितिले सोमबारसम्म तयार गरेको प्रारम्भिक प्रतिवेदनका बारेमा जानकारी गराउन लगाउँदै म्याद सकिएकाले उक्त छानविन समितिको औचित्य समाप्त भएको बताउनुभएको थियो। प्रतिवेदनमा उल्लेखित बैठकमा पढेर नसुनाइएको प्रवक्ता सञ्जिव ढकालले बताउनुभयो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले प्राप्त प्रतिवेदन अख्तियारले मागेकाले उतै पठाउने बताउनुभएको थियो।

उक्त समितिले राजस्व संकलनमा खटिएका कर्मचारीहरू इन्चार्जका रुपमा रहेका कमल कुइँकेल, सुरज तामाङ, ङेमा लामा, राजेश कुइँकेल, वीरमान लामा, इन्द्रबहादुर कुइँकेल र विष्णु अधिकारीसँग बयान लिएको थियो।

बयानका क्रममा इन्चार्ज कमल कुइंकेल लगायतका कर्मचारीहरूले राजस्व अनियमिततामा निर्देशन मानेको बयान दिएका छन्। कर्मचारीहरूले राजस्व संकलनबाट मासिक ९० हजार जनप्रतिनिधि र कर्मचारीमार्फत हुने खाजा खर्च रकम तिर्ने गरेको बयान दिएका छन् भने इन्चार्ज कमल कुइँकेलसहित अन्य ६ जना कर्मचारीले रकम अनियमितता, निःशुल्क पठाइएको र राजस्व रसिद नकाटिएको बारेमा बयान दिएका छन्।

अख्तियारले उक्त नगरपालिकामा भएको राजस्व अनियमितताको छानबिनका लागि रसिदहरू नियन्त्रणमा लिएको छ। नगरपालिकाले चालू वर्षको ५ महिनाका लागि जम्मा १ करोड ५० लाखमा बोलपत्र आब्हान गरेकोमा १ करोड ५५ लाखमा सम्झौता भएको छ। राजस्व चुहावट हुँदा १ लाख नउठेको नगरपालिकामा माघ १६ गतेदेखि दैनिक २ लाख संकलन हुँदै आएको छ। त्यही रेसियोमा झन्डै ३ करोड रकम संकलन हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्