लैंगिकहिंसा व्यवस्थापन केन्द्र स्थापना



महेश न्यौपाने, रोल्पा ।

लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थान केन्द्र स्थापना भएको छ।

रोल्पा अस्पतालमा स्थापना भएको उक्त केन्द्रबाट लैंगिक हिंसापीडितले एकीकृत सेवा लिने व्यवस्था गरिएको छ।

लैंगिक हिंसापीडित महिला तथा बालबालिकालाई एकीकृत उपचार गर्न यस्तो केन्द्र स्थापना गरिएको बताइएको छ। केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण संकलन तथा संरक्षण, मानसिक र मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापनाको सेवा दिइने रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्ड धनमाया घर्तीले जानकारी दिनुभयो।

सेवा केन्द्र सञ्चालनका लागि नेपाल प्रहरी, बार एसोसियसन, स्वास्थ्य संस्था, गैरसरकारी संस्था, स्थानीय र प्रदेश सरकार, अस्पताल र आवास गृहकोे संलग्नता हुने बताइएको छ। सेवा केन्द्रका लागि तीनवटा समितिको व्यवस्थासमेत गरिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी लैंगिक हिंसा व्यवस्थापन सल्लाहकार समिति, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा लैंगिक हिंसा व्यवस्थापन समन्वय समिति र अस्पतालका प्रमुखको संयोजकत्वमा मामला व्यवस्थापन समिति रहने भएका छन्।

लैंगिक हिंसापीडितहरुलाई एकीकृत सेवा दिने भएकाले कार्यक्रम प्रभावकारी हुने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको भनाइ छ।

संघीय सरकारको कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षबाट रोल्पामा यो कार्यक्रम शुरु गरिएको हो। संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट उक्त कार्यक्रमका लागि वित्तीय व्यवस्थापनको जिम्मा तोकिएको बताइएको छ। कार्यक्रमका लागि हाल संघीय सरकारको तर्फबाट १५ लाख बजेट विनियोजन गरिएको रोल्पा अस्पतालका अहेब चन्द्र घर्तीले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्