हिमपातले मुगुको जनजीवन कष्टकर

हिउँमा फसेका यात्रुलाई सुरक्षाकर्मीद्वारा उद्धार



वीरबहादुर बम, मुगु ।

हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा वर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन कष्टकर बनेको हो।

हिमपातका कारण जिल्लाको एक मात्र रारा विमानस्थलमा हवाई सेवा तथा नाग्मा गमगढी सडक खण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

नेपालगन्ज र सुर्खेतबाट आउँदै गरेको यात्रुवाहक तथा व्यापारीका सामान ल्याएर आएका सवारीसाधन बीचबाटोमै थन्किएका छन् भने हवाई सेवाबाट यात्रा गर्ने यात्रु रारा विमानस्थल ताल्चामा अलपत्र परेका छन्।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोध्र गाँउपालिका+९ वडाका १५ वस्तीमा सबैभन्दा बाक्लो हिमापत परेको छ। हिमपातले गर्दा सबैभन्दा बढी पशु चौपायलाई घाँसपात गर्न समस्या भएको मुगुम कार्मारोध्र गाउँपालिका–९ का पूर्णबहादुर बुढाले जानकारी दिनुभयो।

खत्याड गाँउपालिकाको खमाले, चाकपाडे, निगालबोट, जम्फै सेरी, डाडुपाटा, रोल, जिउका गम्थालगायत वस्तीमा समेत हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको स्थानीयवासीले बताउँछन्।

सदरमुकाम गमगढीबाहेक छायाँनाथ रारा नगरपालिकाको १४ वटै वडा र सोरु गाउँपालिकाको ११ वटै वडामा हिमपात भएको छ।

सदरमुकाम गमगढीबाट सुर्खेत जाँदैै गरेका यात्रु अलपत्र परेको जानकारी पाएपछि नेपाली सेनाले उद्धार गरेको छ भने रारा घुम्न गएका आठ जना बालिकालाई पनि उद्धार गरिएको रारा राष्टिझय निकुञ्ज सुरक्षार्थ खटिएको श्रीदल गुल्मका गुल्मपति निराजन धामीले जानकारी दिनुभएको छ।

दिएको जानकारीअनुसार जिल्लाको सदरमुकामबाहेकका सबै उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णाकुमार निरौलाले हिमपातले कुनै मानवीय तथा भौतिक क्षति नभएको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्