मेयरद्वारा किसान कुटिएपछि महागढीमाईमा तनाव



गोकुल घोरसाइने, बारा ।

फेसबुकमा मेयर उपेन्द्र यादवको भिडियो पोस्ट गर्ने युवकका बुबा हरेन्द्र महतो कोइरीमाथि कुटपिट र दुव्र्यवहार भएपछि जिल्लाको महागढीमाई नगरपालिकामा दुई पक्षबीच एक साताअघिबाट शुरु भएको तनाव अझै साम्य भएको छैन। घटनापछि एउटाले अर्को पक्षलाई विपक्षी बनाएर प्रहरीमा जाहेरी दिएका छन् भने कारबाहीको माग गर्दै प्रदर्शन र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन जाने क्रम दिनहुँजसो हुँदै आएको छ।

भिडियो पोस्ट गरेको आरोपमा कोइरीका छोरा मुकेश कुवाहामाथि पनि कुटपिट भएपछि नगरमा दुई पक्षबीचको तनाब थप बढेको छ। कोइरीले भेदभाव तथा अपमानजन्य कसुरमा मेयर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएपछि मुकेशमाथि गत बिहीबार सांघातिक आक्रमण भएको थियो।

मेयर यादवका मान्छेको कुटपिटबाट गम्भीर घाइते उनको काठमान्डौंमा उपचार भइरहेको छ भने सोही घटनामा मेयर यादवका गाडी चालक साहेबप्रसाद यादव, स्वकीय सचिव साजन गुप्ता, सुचेन्द्र बैठा, धिरेन्द्र लहेरालगायत पनि घाइते भएको बताइएको छ।

मुकेशले मेयर यादवका मान्छेहरुविरुद्ध ज्यान मार्ने उद्योगमा र मेयर यादवले पनि उनीमाथि अभद्र व्यवहारसम्बन्धी र मेयरका मान्छेले पनि ज्यान मार्ने उद्योगमा अर्को जाहेरी दिएका छन। मुकेशलाई कुटपिट गरेको आरोपमा आइतबार प्रहरीले मेयरका सहयोगी सुचेन्द्र बैठालाई पक्राउ गरेको र नेपाली कांग्रेस पार्टी जिल्ला सभापति भोला चौरसियासहितको टोलीले सदरमुकाममा प्रदर्शन गर्दै प्रहरी कार्यालयमा पुगेर अर्को पक्षका मान्छेलाई पनि तत्काल पक्राउ गर्न उपरीक्षक कृष्ण पंगेनीलाई दबाब दिएको छ।

यसअघि मेयर यादवमाथि पनि कारबाही हुनुपर्ने माग गर्दै बरियारबाट आएका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयअगाडि यसअघि शुक्रबार प्रदर्शन गरेका थिए। तर, मेयर यादवविरुद्ध परेको जाहेरीमा प्रहरीले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन। गाउँमा निर्माणाधीन नाला अधुरो रहेको विषयमा मेयर यादवलाई पटक-पटक ध्यानाकर्षण गराउँदै आएको र अनुगमनमा पुगेका मेयर यादवको भिडियो खिचेर मुकेशले गत सोमबार आप्नो फेसबुकमा पोस्ट गरेको निहुँमा बाबु हरेन्द्रलाई मेयर यादवले नगर प्रहरी लगाएर शौचालयमा थुनेका थिए।

यादव नेपाली कांग्रेस पार्टीबाट मेयर निर्वाचित हुनुभएको हो भने उहाँको भिडियो पोस्ट गर्ने युवक समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव हुनुहुन्छ। दुवै पक्षका कार्यकर्ता र समर्थकहरु प्रदर्शनका साथै झडपमा उत्रिन थालेपछि घटनाले राजनीतिक रुप लिन थालेको अनुमान छ।

दुईबीच जारी विवाद र सम्भावित झडपका घटनाबारे प्रहरी सचेत रहेको उपरीक्षक पंगेनीले बताउनुभयो। उहाँले घटनालाई प्रहरीले नजिकबाट नियाली रहेको र दुवै पक्षलाई संयमित हुँदै आपसी समझदारीबाट निकास खोज्न आग्रह पनि गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्