फुलारा विकाउभन्दा टिकाउ हुने प्रयासमा



गायक तथा संगीतकार हरिदत्त फुलारा बिकाउभन्दा टिकाउ हुने सिर्जनामा लागेका छन्। ‘स्वरसम्राट नारायण गोपाल, भजन शिरोमणि भक्तराज आचार्य हतार गरेर चर्चामा आएका संगीत साधक थिएनन्, त्यसैले टिकाउ भए, कालजयी बनेर गए, म उहाँहरूकै बाटोमा लाग्न चाहन्छु, कुनै हतार छैन’ फुलारा नेपाल समाचारपत्रलाई बताउँछन्।

१० वर्षअघि शास्त्रीय संगीतको गायन विधामा भारतको काशी हिन्दु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका फुलाराले २०६५ सालमा काशी गंगा आरती भजन पहिलो अल्बम निकाले।

हँसायो मायाले बोलको आफ्नै शब्द, संगीत र स्वरको गीत २०७१ मै लोकप्रिय भएपछि २०७२ मा मायाले नामको एल्बम पनि निस्क्यो। हेर्ने–सुन्ने सबैले राम्रो भने तर उनले आफैंमाथि सन्तोष गर्न सकेनन्।

‘अग्रजहरूले देखाएको मार्गमा बलियो इँटा थप्न नसकेसम्म सन्तुष्ट हुन सकिन्न, अघिल्लो पुस्ताको योगदानको तुलनामै पुग्न नसके पनि निरन्तरता र जगेर्नासम्म गरें भन्ने विश्वास नजागेसम्म हामी नयाँ पुस्ताले फुर्किनुहुन्न’ फुलारा भन्छन्।

धनगढी, कैलालीमा २०३९ मा जन्मिएका फुलाराका आफ्नै शब्द, संगीत र स्वरका हसायो मायाले, सम्झनामा डुबाएर धरधरी रुवायो, मैले मन पराएँ तिमीलाई, मेरो देश, गीत तिमी संगीत तिमी, लाग्छौ नक्कली, माया लाउ लाउ आदि गीत लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्