‘दातृ निकायको दबाबमा सरकार निजी क्षेत्रप्रति कठोर’



नेपाल समाचारपत्र, बुटवल । 

पूर्वमन्त्री दीपकुमार उपाध्यायले अन्तर्राष्ट्रिय दातृ निकायको दबाबमा सरकारले निजी क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ।

उपाध्यायले अन्तर्राष्ट्रिय दातृ निकायले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने भन्दै दातृ निकायले दबाब दिन थालेपछि बाध्य भएर सरकार मुलुकको आन्तरिक आम्दानी बढाउन निजी क्षेत्रलाई करलगायतका क्षेत्रमा कडाइ गरेको खुलासा गर्नुभयो। बुटवल उद्योग बाणिज्य संघको ६७औं स्थापना दिवसको अवसरमा आइतबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले अन्तर्राष्ट्रिय दातृ निकायलाई खुशी बनाउनकै लागि करको दरमा वृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यवसायी परेको धारणा राख्नुभयोे।

राजस्व बढाउने नाममा निजी क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यवसायी धराशयी हुँदै गएको बताउँदै उहाँले उद्योगी व्यवसायीका मन जितेर अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभयो। भारतका लागि पूर्वराजदूतसमेत रहनु भएका उपाध्यायले नेपाल–भारतबीच खुला सिमानाका कारण नेपालको मात्रै नभएर भारतका लागि समेत उत्तिकै समस्याको विषय भएको उल्लेख गर्नुभयो।

त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनाकालदेखि नै यस क्षेत्रको विकासमा योगदान गर्दै आएको स्मरण गर्दै संघकै पहलमा बुटवल बुहुमुखी क्याम्पसको बिज्ञान भवन निर्माण, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पसका स्थापना, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती कक्ष तथा क्याविन निर्माण, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लगायतको स्थापनामा बुटवल उद्योग बाणिज्य संघको योगदान रहेको जानकारी गराउनु भयो।

उक्त अवसरमा संघका पूर्वअध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरिएको थियो। संघको स्थापना दिवसको अवसरमा संघका पूर्वअध्यक्षहरू मध्येबाट १ जनालाई सम्मान गर्ने गरी यो वर्षदेखि पूर्वअध्यक्षलाई सम्मानको कार्यक्रम शुरु गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्